कुखुराको दाना बाजुरा जिल्लामै उत्पादन, वार्षिक ३३ लाखभन्दा बढीको कारोबार गर्ने लक्ष्य



बाजुरा । कुखुराले खाने दाना जिल्लामै उत्पादन गरिने भएको छ । जिल्ला बाहिरबाट ल्याउने गरिएको दाना बुढीनन्दा कृषि सहकारी संस्थाले मालिका दाना उद्योग सञ्चालन गरी जिल्लामै उत्पादन गर्ने भएको हो ।

मलेसियाबाट फर्किएका कृष्ण धामीसहितका चार युवाको स्वामित्व रहने गरी उद्योग मार्तडीमा सञ्चालन गर्ने तयारी भइरहेको सहकारी संस्थाका अध्यक्ष मथुराराज पण्डितले बताए ।

केही कच्चा पदार्थ जिल्ला बाहिरबाट ल्याएर दाना जिल्लामै उत्पादन गर्ने लक्ष्य छ । हालसम्म जिल्लामा बोइलर तथा स्थानीय जातका कुखुराका लागि जिल्ला बाहिरबाटै दाना ल्याउने गरिएको छ । मकै र भटमासबाट कुखुराका लागि दाना उत्पादन गरिने छ ।

“अन्यत्रभन्दा सस्तोमा दाना बिक्री गर्ने योजना छ,” सहकारीका व्यवस्थापक नरप्रसाद जैशीले भने । मालिका दाना उद्योगको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले सोमबार उद्घाटन गरे । उद्योगका लागि चार लाख ७४ हजारमा उपकरण खरिद गरिएको छ ।

सहकारीले वार्षिक ३३ लाखभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ । उपकरण खरिद गर्न बडिमालिका नगरपालिकाले दुई लाख २० हजार र सेभ द चिल्डे«नले दुई लाख चार हजार अनुदान सहयोग गरेको छ ।


क्लिकमान्डु