नेपाल-बङ्गलादेश उर्जा संयन्त्रको पहिलो बैठक बस्दै, सोमबार र मंगलबार यी विषयमा हुँदैछ छलफल



file photo

काठमाडौं । नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा वस्न लागेको हो ।

वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार नेपाल-बङ्गलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको वैठक वस्ने तय भएको हो ।

वैठकमा सहभागी हुनको लागी वङ्गलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आईतबार काठमाडौं आई पुगेका छन् ।

नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले वैठकमा नेतृत्व गर्ने छन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको वैठक समेत तय भएको छ ।

उक्त वैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरेले वैठकको नेतृत्व गर्नुहुनेछ भने बङगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्नेछन् ।

वैठकमा क्रस वोर्डर इन्टर कनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारवारे समेत दुवैपक्षबीच वार्ता हुनेछ ।

त्यसैगरी नबीकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङ्गलादेशले लगानी गर्ने सम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत वैैठकमा छलफल हुने बताइएको छ ।

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ को गत सेप्टेम्बरमा भएको वङ्गलादेश भ्रमणमा पनि दुवै देशबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागी छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।

मन्त्री पुन उर्जामन्त्रीका रुपमा आईसकेपछि नै वङगलादेशसंग उर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझारीमा वङ्गलादेशका तर्फवाट उर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।

उर्जामन्त्री पुनले नेपालको जलविद्युत बङ्गलादेशलाई बेच्ने वातावरण आफुले बनाउने दावी गर्दै आएका छन् । उनले नेपालमा उत्पादित बिजुलीको खपतका लागी आन्तरिक बजार बनाउनुका साथै क्षेत्रीय वजार निर्माणका लागी समेत पहल गरिरहेका छन् । मन्त्री पुनकै पहलमा चीन र बङ्गलादेशसंग इनर्जी कोअपरेशनमा हस्ताक्षर भएको थियो ।


क्लिकमान्डु