नेपाल र कम्बोडियाका निजी क्षेत्र बीच व्यापार एवम् लगानी प्रबद्र्धन सम्बन्धी छलफल



काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा एवम् महासंघका पदाधिकारी र नेपाल भ्रमणमा रहेका कम्बोडिया व्यापार संघका उपाध्यक्ष ओक्न्हा लिम हेङ्गको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डलबीच आज महासंघको सचिवालयमा भेटघाट एवं छलफल भयो ।

उक्त प्रतिनिधिमण्डल नेपालमा आयोजित एसिया प्यासिफिक समिटमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनको प्रतिनिधिमण्डल सहित नेपाल भ्रमणमा आएको हो ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा महासंघका अध्यक्ष राणाले प्रतिनिधिमण्डलको स्वागत गर्दै नेपालमा हालका दिनमा स्थायी सरकार भएको तथा सरकारको प्रमुख उद्देश्य तथा लक्ष्य आर्थिक सम्बृद्धि भएकोले सो अनुसार नेपालमा लगानी मैत्री वातावरण भएकोबारे पार्दै लगानी गर्न आव्हान गरेकी थिइन् ।

यसै क्रममा उनले नेपालमा लगानीको लागि सम्भाव्य भएका क्षेत्रहरुबारे प्रतिनिधि मण्डललाई जानकारी गराउँदै कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको र सो अनुसार सरकारले लगानीसंग सम्बन्धित ऐन नियमहरु सुधार गर्दै लगेको वस्तुस्थिति प्रस्तुत गरेकी थिइन् ।

नेपाल सरकार र कम्बोडिया सरकारबीच भएको हवाई सेवा सम्झौताबाट नेपाल र कम्बोडियाबीच व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न जाने उनले बताइन् । साथै महासंघ र कम्बोडिया चेम्बर बीच चाँडै नै समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने स्पष्ट पारिन् ।

उक्त अवसरमा कम्बोडिया चेम्बर अफ कमर्सका उपाध्यक्ष लिमले कम्बोडियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिंदै नेपालमा लगानी सम्बन्धी भएका नीति ऐन नियमहरुवारे जिज्ञासा राखे ।

उनले नेपाल सरकार र कम्बोडिया सरकारबीच भएको हवाई सेवा सम्झौता द्विपक्षीय व्यापार तथा पर्यटनको बिकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गर्दै दुई सरकारहरु बीचको बलियो सम्बन्धले निजी क्षेत्र बीचको सम्बन्धलाई अझ मजबूत बनाउने धारणा राखे ।

उक्त छलफल कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, पूर्व कार्यकारिणी समितिका सदस्य शंकरप्रसाद पाण्डे, निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी एवं वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु