मध्यमोदी जलविद्युत् आयोजना ठप्प, मजदुर आन्दोलनले काम प्रभावित
पर्वत । औद्योगिक घराना चौधरी ग्रुपले पर्वतमा निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण दुई दिनदेखि ठप्प भएको छ ।
आयोजनामा कार्यरत मजदूरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदूर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित भएको छ ।
आयोजनाको सुरुङमा विष्फोटनका लागि माटाको लोला भर्ने काममा संलग्न मजदूरलाई निष्कासनको विरोध गर्दै मजदूरले निर्माण बन्द गराएका छन् । निष्कासन गरिएका छ महिलालाई पुर्नबहाली गर्नुपर्ने माग मजदूर युनियनको छ ।
आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्काशन गरिएको बताएको छ ।
आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएकाले दशैँपछि निष्कासन गरिएपनि छलफल गरी समस्या समाधानको प्रयास भइरहेको बताए ।
“काम नभएका कारण मजदूर निष्कासन गरिएको हो”, आयोजना प्रमुख राउतले भने, “हामी छलफल र संवादबाट मजदूरलाई वैकल्पिक ढङ्गले व्यवस्थापन गर्ने योजनामा छौँ ।”
पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ४०० मिटर सुरुङ निर्माण सकिएको छ । बाँकी भागमा विष्फोटन नगरी निर्माण अघि बढेको आयोजना प्रमुख राउतले बताए ।
आयोजनाको निर्माण विसं २०७१ मङ्सिरदेखि शुरु भएको थियो । आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर-२ बेतेनीसम्म दुई हजार ६९३ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ ।
यहाँ उत्पादित विद्युत् चार किमी लामो प्रसारण लाइनमार्फत देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रक्रिया भने भर्खर शुरु भएको छ । आयोजनामा प्राइम बैंकको नेतृत्वमा सात बैंकले लगानी गर्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मोदी गाउँपालिकालाई जलविद्युत् आयोजनाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको बताए ।