रिक्स म्यानेजमेन्ट कन्फ्रेन्समा बैंकिङ्ग क्षेत्रमा बढ्दो जोखिमबारे छलफल



काठमाण्डौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले भारतको फिन्टलेक्ट संस्थासंगको सहकार्यमा यही मंसिर १३ गते बैंकिङ्ग क्षेत्रमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा भएका अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाण्डौँमा एक दिने राष्ट्रियस्तरको रिक्स म्यानेजमेन्ट कन्फ्रेन्स आयोजना गरेको छ ।

कार्यक्रममा बैंकिङ्ग क्षेत्रमा आउने बिभिन्न जोखिमहरुका सम्बन्धमा नियमनकारी निकायको के कस्तो धारणा रहेको र ती जोखिम न्यूनीकरणका लागि आगामी दिनहरुमा नियमनकारी निकायको के कस्तो भूमिका रही सोही बमोजिमको रणनीति लिईने हो भन्नेबारे जानकारी आदान प्रदान गरियो ।

उक्त सम्मेलनमा केही बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा जोखिम विभाग प्रमुखहरु समेतको सहभागितामा बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको जोखिम तथा सो को निराकरणको लागि के कस्तो औजारहरु प्रयोग गर्न सकिन्छ भनि प्यानल छलफल समेत गरिएको थियो ।

विगतको सम्मेलनमा जस्तै यो सम्मेलनमा पनि बिदेशबाट श्रोत व्यक्तिको रुपमा भारतबाट बेन्जामिन फ्रान्कलाई आमन्त्रण गरिएको थियो । उनले कर्जासँग सम्बन्धित जोखिम तथा सो को निराकरणबारे प्रस्तुतिकरण गरेका थिए । उक्त सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट गरी १०० भन्दा बढी उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु