७ वटा भन्सारमा प्रभु बैंकको काउण्टर, अर्को हप्ताबाट सेवा प्रारम्भ



काठमाण्डौ । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यही मंसिर ११ गते एक कार्यक्रमकाबीच भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएको हो ।

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि बैंकको काउण्टर संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने जनाइएको छ ।

बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ सेवाहरु प्राप्त गर्नेछन् । साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बैंकले बिश्वास लिएको छ ।


क्लिकमान्डु