माथिल्लो तामाकोशीमा ५७ सय आवेदन रद्द, सदर भएका सबैले पाए न्यूनतम ४० कित्ता सेयर
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर बाँडफाँड भएको छ ।
३ लाख ३९ हजार ७७५ जनाले सेयर आवेदन दिएकोमा ५ हजार ७ सय जनाको आवेदन रद्द भएको छ ।
निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार ३ लाख ३४ हजार ७५ आवेदन सदर भएको थियो ।
जसमा आवेदन सदर भएका सबै लगानीकर्ताले न्यूनतम ४० कित्ता सेयर पाएका छन् । १ लाख ७२ हजार ७ सय ७५ आवेदकले ४० कित्ताको अतिरित्त गोलाप्रथाद्धारा थप १० कित्ता सेयर प्राप्त गरेका छन् ।
यसरी १ लाख ६१ हजार ३०० जना आवेदकले ४० कित्ताका दरले र १ लाख ७२ हजार ७७५ जनाले ५० कित्ताको दरले सेयर पाएका छन् ।
यसअघि आवेदन दिएका कर्मचारी कोषका संचयकर्ता तथा स्थानीय दोलखाका बासिन्दाले समेत आवेदन दिएको कारण ठूलो संख्यामा आवेदन रद्द भएको हो । कम्पनीले १ करोड ५० लाख लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । ४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्ण रुपमा स्वदेशी लगानीमा बनेको हो ।