सेयर बजार घट्ने क्रम रोकियो
काठमाडौं । सेयर बजार परिसूचक घट्ने क्रम रोकिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.६१ बिन्दुले बढेर ११६१.४३ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ८८ हजार १६९ कित्ता शेयर रु २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको हो ।
कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको र बाँकी पाँच उपसमूहको बढेको छ । बैङ्किङ दुई दशमलव २२, होटल १० दशमलव ०८, विकास बैङ्क तीन दशमलव ८६, जलविद्युत् चार दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ ।
यस्तै वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा २७ दशमलव ९३, उत्पादन एक दशमलव सात, लघुवित्त एक दशमलव ४८ र जीवन बीमा छ दशमलव शून्य एक विन्दुले घटेको छ । सामान्य सुधार भएको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन् ।
यस्तै, एनएलजी इन्सुरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैङ्क, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् । यस्तै नेपाल क्रेडिट एण्ड कर्मस बैङ्क लिमिटेडको एक करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद शेयर स्कटमा सूचीकृत भएको छ ।