मङ्सिर १६ गतेदेखि जोशी हाइड्रो पावरले आइपीओ बिक्री गर्ने



काठमाडौँ । जोशी हाइड्रो पावर कम्पनीले १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ ।

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले तीन लाख ७१ हजार ४०० कित्ता अर्थात् तीन करोड ७१ लाख ४० हजार बराबरको शेयर छुट्याएको थियो । त्यसमा प्रति शेयर रु एक सय अंकित दरको एक लाख २९ हजार ३९० कित्ता मात्रै आवेदन परेको थियो ।

स्थानीयबासीले आवेदन नगरेको शेयर समेत आम सर्वसाधारणलाई बिक्री गरिनेछ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको माथिल्लो पिलुवा एक जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ ।

आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रहेको छ ।

आयोजनाले विद्युत विकास विभागबाट २०७० साल जेठ १२ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । त्यसआधारमा सो आयोजनाको स्वामित्व ३१ वर्ष कम्पनीको नाममा रहनेछ ।

आयोजनाको सर्व साधारणमा लगानी फिर्ता हुने अवधि ११ वर्ष रहेको छ । आर्थिक अवस्थाको विश्लेषण गर्ने इक्रा नेपालका अनुसार कम्पनीको अवस्था कमजोर रहेको छ ।


क्लिकमान्डु