उर्जामन्त्री-चिनियाँ राजदूत भेट, उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले नेपालमा पाँच वर्षको लागी स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि भएको धारणा राखेका थिए ।

नेपाली लागी चिनियां राजदूतको कार्यकाल सकेर चीन फर्कने तयारीमा रहेकी चिनियाँ राजदूतले मन्त्री पुनसँग विदाई भेट गरेकी हुन् । भेटवार्ताका क्रममा उर्जामन्त्री पुनले राजदूत होङको कार्यकालमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध निकै सुदृढ भएको धारणा राखे । उनले आगामी दिनमा समेत दुई मुलुकको सम्बन्ध अझै प्रगाढ वन्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले विगत केही वर्षयता नेपालको जलविद्युत क्षेत्रका साथै अन्य क्षेत्रमा बढेको चिनियाँ लगानी नेपालको आर्थिक विकासका लागी निकै फलदायी हुने बताए ।

उनले राजदूत होङको कार्यकालमा उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको, उर्जा क्षेत्रमा इनर्जी कोअपरेशनमा हस्ताक्षर हुनुका साथै चीनबाट लगानी भित्र्याउन गरेको प्रयत्नप्रती नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

‘नेपालको आर्थिक विकासमा चीन सरकार र यहाँले गरेको प्रयत्न र पहलप्रती हामी आभारी छौ, आगामी दिनमा पनि दुई देशको सम्बन्ध र सहकार्य अझ नयां उचाईमा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’ उर्जामन्त्री पुनले राजदूतसंगको भेटमा भने ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका उर्जामन्त्री पुनले ४०० केभी क्षमताको गल्छी-केरुङ अन्र्तदेशीय प्रशारण लाइन नेपालको उच्च प्राथमिकतामा रहेको धारणा राखेका थिए ।

भेटमा उक्त परियोजनालाई अघि बढाउनेबारे छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । मन्त्री पुनले नेपाल र चीनबीच केही समयअघि मात्र हस्ताक्षर भएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल नेपालको स्वाधीनताको लागी ऐतिहासीक समझदारी भएको धारणा राखे ।

उनले यसअघि नै नेपाल–चीनबीच उर्जा संयन्त्रको पहिलो वैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै वेइजिङमा छिट्टै दोस्रो वैठक वस्ने खवर आफुले पाएको बताए ।

भेटमा चिनियां राजदूत होङले उर्जा क्षेत्र दुवै मुलुकको लागी सवैभन्दा महत्वपूर्ण क्षेत्र भएको भन्दै उर्जामन्त्रीको रुपमा यो क्षेत्रलाई अघी बढाउन खेलेको भूमिकाको उनले प्रशंसा समेत गरिन् ।

राजदूत होंङले उर्जा संयन्त्रको अर्को वैठक वेइजिङमा छिट्टै वस्ने र त्यसमा दुई देशको बीचमा उर्जा क्षेत्रमा गर्न सकिने थप सहकार्यबारे घनिभुत छलफल हुने जानकारी समेत दिइन् ।

उनले नेपालमा पछिल्लो तीन वर्षमा चिनियााँ लगानी ६ सय ८० प्रतिशतले वृद्धि भएको भन्दै चीन प्रत्यक्ष लगानीतर्फ नेपालमा एक नम्बरमा रहेको जानकारी समेत दिइन् । ‘पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षीत हुनुभएको छ, आगामी दिनमा समेत यो प्रक्रिया निरन्तर जारी रहनेछ ।’ राजदूत होङले भेटमा भनिन् ।

नेपाल स्थिरता र विकासको वाटोमा अघि बढेकोमा राजदूत होङले विदाई भेटमा खुशी व्यक्त गरेकी थिइन् ।


क्लिकमान्डु