विश्व स्वच्छ व्यवसायी सम्मेलन काठमाडौँमा, तीन दिने सम्मेलन शनिवार समापन हुने



File Photo

काठमाडौँ । स्वच्छ व्यवसायको प्रवद्र्धन गरी दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले एशिया स्वच्छ व्यवसायी सम्मेलन ‘एशिया फेयर ट्रेड समिट-२०१८’ काठमाडौँमा जारी छ ।

स्वच्छ व्यवसायी समूह नेपालले आयोजना गरेको सम्मेलनमा नेपालसहित २१ देशका करीब १५० प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिने सम्मेलनमा स्वच्छ व्यवसायको आगामी रणनीति, व्यवसायिक प्रवद्र्धन र बजार विस्तारबारे अवधारणा बनाउनेछ ।

सम्मेलनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्वच्छ व्यवसायको प्रोत्साहनका साथै नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने उल्लेख गरे ।

उनले नेपाली परम्परागत हस्तकला संस्कृतिसँग जोडिएकोले पर्यटक आकर्षणको महत्वपूर्ण पाटो भएको भन्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन मेला, सम्मेलन सार्थक बन्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी) का देशिय निर्देशक आर मारिस र विश्व स्वच्छ व्यवसायी समूहका अध्यक्ष रुडी दाइभीले नेपालले लिएको दिगो विकासको लक्ष्यलाई सार्थक तुल्याउन स्वच्छ व्यवसाय सम्मेलन उपयोगी हुने धारणा राखे ।

स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष व्यापार प्रवद्र्धनका साथै नेपाललाई विश्वबजारमा परिचित गराउन सम्मेलनले सहयोग पुग्ने उल्लेख गरे । स्वच्छ व्यवसाय विपन्न नागरिकको जीवनस्तर उकास्न न्यायोचित ढङ्गले गरिने व्यापार हो ।

यो परम्परागत नाफा कमाउने व्यापारभन्दा भिन्न तरिकाको सामाजिक न्यायमा आधारित हुन्छ । जसले वस्तु उत्पादनमा लागेकालाई सामग्री खरीददेखि सहज बजारीकरणको व्यवस्था मिलाइदिन्छ ।

नेपालको जम्मा हस्तकला निर्यातको २० स्वच्छ व्यवसायी समूहका सदस्यले योगदान गरेको र हस्तकला, खाद्य परिकारलगायत उत्पादनमा करीब ४५ हजारले रोजगारी पाएको संस्थाले जनाएको छ ।

फेयर ट्रेड सन् १९९६ देखि नेपालमा शुरु भएको यो सम्मेलन विश्वव्यापी र क्षेत्रीय रुपमा गरिसकेको छ । यो चौथो सम्मेलन हो । प्रत्येक दुई वर्षमा आयोजना हुने सम्मेलन स्वच्छ व्यवसायको प्रवद्र्धन तथा न्यून आयका जनसमुदायको जीवनमा गुणात्मक सुधारका लागि रणनीति बनाइने आयोजकले जनाएको छ ।

सम्मेलन शनिवार समापन हुनेछ ।


क्लिकमान्डु