प्रथम चौमासिक समीक्षामा प्रधानमन्त्रीको निर्देशन-हरेक दिन विकासको गति एक कदम भएपनि अघि बढ्नु पर्छ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भएपनि अघि बढ्नुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७५\०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याए । “हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ ।

त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।”

मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिए ।

“विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्रीले थपे, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।”

कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले नेपाल वायुसेवा निगमको ‘वाइड बडी’ जहाज उडाउने तयारी तथा निगम घाटामा जानाको कारणबारे पनि जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयलाई वृक्षरोपणमा मात्र नभई कृषि वन बढाउनपनि आग्रह गरे । उनले निर्देशन दिंदै भने, “अनुत्पादक जातका बिरुवा होइन प्रतिफल दिने फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्, त्यसोे गरेमा फल जति जनताको, बोटजति सरकारको हुन्छ ।”

सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त प्रस्तुत गर्दैै प्रधानमन्त्रीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने औँल्याए । “बृहत् मात्रामा कृषि उत्पादन गरौंँ, जसले निर्यात प्रवद्र्धनमा पनि सघाओस्,”कृषिको उत्पादकत्व वृद्धि सुझाउँदै उनले भने ।

उनले कृषि, उद्योग, पर्यटन र सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई हटाउन निर्देशन पनि दिए । “यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यसो हुनु भएन”, उनले भने ।

आजको समीक्षा बैठकमा सचिवहरु खानेपानी तथा सरसफाइ मन्त्रालयका गजेन्द्र ठाकुर, युवा तथा खेलकूद मन्त्रालयका मोहनकृष्ण सापकोटा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका खगराज बराल र कृष्ण बिसीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका महेश दाहाल, वन मन्त्रालयका विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कृष्णप्रसाद देवकोटाले मन्त्रालयबाट सम्पादित कामको प्रगति विवरण पेश गरेका थिए । बाँकी मन्त्रालयको प्रगति समीक्षा आगामी शनिबार हुनेछ । रासस


क्लिकमान्डु