पालुङटारमा नेवाः घरबास, एकरात बास बस्नका लागि प्रतिव्यक्ति ९००



गोरखा । पालुङटार नगरपालिका-५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो ।

नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ, खुशी बाडौैँ’ नाराका साथ घरबासको अवधारणा ल्याइएको हो ।

नेवाः घरबासमा आउने पर्यटकले बेलुकी नेवारी परिकारसहितको खाना, बिहानको खाजा र एकरात बास बस्नका लागि प्रतिव्यक्ति ९०० तिर्नुपर्ने छ । “पर्यटकले नेवारी संस्कृतिका बारेमा जान्न पाउनेछन्,” श्रेष्ठले भने ।

घरबास सञ्चालन गर्न नेवाः देय् दबुले ‘लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी’सँग सहकार्य गरेको छ । घरबासको आम्दानीमध्ये स्थानीय समुदायले ८० प्रतिशत तथा इन्भेस्टमेन्ट कम्पनी र ठाँटीपोखरी नेवाः देय् दबुले १०\१० प्रतिशत लिने सहमति भएको सो कम्पनीका सञ्चालक किरण गिरीले बताए ।

“पाहुनाको आगमनसँगै घरबासलाई प्रवद्र्धन र विकास गर्दै लैजाने योजना छ,” उनले भने । घरबास सञ्चालन गर्न स्थानीय नेवार समुदायलार्ई विभिन्न नेवारी कला, संस्कृति तथा परिकार बनाउने तालीम दिइनेछ ।


क्लिकमान्डु