अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीबारे छलफल, सुधार आवश्यक रहेको निश्कर्ष



काठमाडौँ । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धात्मक बन्न नेपालले अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्नुपर्ने दक्षिण कोरियाको केन्द्रीय बैंक र विश्वविद्यालयको अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकसँगको समन्वयमा ‘नेपालमा भुक्तानी र फछ्र्योट प्रणालीको विकासमा भएको अध्ययनबारे राजधानीमा भएको अन्तिम छलफल कार्यक्रममा अनुसन्धानकर्ताले यस्तो बताएका हुन् ।

नेपालको भुक्तानी प्रणाली कस्तो छ र भोलिको दिनमा कसरी विकास गर्न सकिन्छ भनेर अध्ययन भएको जानकारी दिँदै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले त्यसैका आधारमा नेपालको सो प्रणालीलाई प्रभावकारी बनाउन रणनीति निर्माण गरेर अघि बढ्ने उल्लेख गरे ।

बैंक अफ कोरिया र कोरिया विश्वविद्यालयले एक वर्ष लगाएर उक्त अध्ययन गरेको थियो । नेपालको अनलाइन भुक्तानी प्रणालीमा सुधार आवश्यक रहेको अध्ययनले देखाएको राष्ट्र बैंकका उपनिर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कतिपय ठाउँमा बैंक नपुगेको, पर्याप्तमात्रामा सूचना र प्रविधिको विकास भएको स्मार्ट फोनको प्रयोग प्रभावकारी नभएको र नागरिकसमेत प्रविधिसँग परिचित नभएको अध्ययनले देखाएको छ ।

कोरिया र चाइनाको विद्युतीय भुक्तानी प्रणाली ‘अलिपे’ र भारतमा ‘पेटिएम’ जस्तै प्रणालीको विकास गर्नुपर्छ भन्ने अध्ययनको निष्कर्ष रहेको भन्दै शर्माले त्यस्तै नभए पनि यहाँको परिस्थिति सुहाउँदो प्रविधिको विकासमा राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

कोरियन विश्वविद्यालयका डाक्टर चोङ ल्योल लीले नेपालले अनलाइन कारोवार वास्तविक समयमा गराउन नेपालले पनि कोरियाले झैँ सक्रिय र अनिवार्य नीति लिनुपर्ने सुझाव दिए । यसका लागि सरकारले बैंक वित्तीय संस्था र सूचना प्रविधिसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय गर्नुपर्नेमा उनको जोड थियो ।

अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीको विकासबारे राष्ट्र बैंकले मौद्रिक नीतिमा नै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा निजी क्षेत्रबाट विद्युतीय कारोवार सञ्चालन भए पनि सरकारीस्तरको काम सन्तोषजनक नभएको प्रतिवेदनमा उल्लेख छ ।

उनका अनुसार कोरियामा बैंक वित्तीय संस्थामा मात्रै नभई सामान्य पसलमा समेत विद्युतीय भुक्तानी अनिवार्य गरिएको छ । कागजी भुक्तानी प्रणालीलाई निरुत्साहित गरी विद्युतीय कार्डको प्रयोगमा प्रतिस्पर्धा बढाएको छ ।

त्यस्तै प्रक्रिया अपनाइ नेपालले अफलाइन भुक्तानी प्रणालीलाई समेत प्रवद्र्धन गरी विद्युतीय कारोवार बढाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्ययन टोलीको सुझाव छ । कोरिया सरकारले सक्रिय नीति अवलम्बन गरेपछि डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्नेमा उत्कृष्ट देश बनेको सो क्रममा बताइएको थियो ।

कोरिया विश्वविद्यालयका डाक्टर मियुङ की किमले नेपालमा सरकारको तुलनामा निजी क्षेत्रले विद्युतीय भुक्तानी प्रणाली र मोबाइल भुक्तानी सेवाको प्रयोग बढाएको देखिए पनि विद्युतीय भुक्तानी प्रणाली परम्परागत रहेको बताए । उनले अन्तर्राष्ट्रिय प्रयोगअनुसार चल्न सुझावसमेत दिए ।

राष्ट्र बैंक र कोरियन बैंक मिलेर नेपालमा विद्युतीय भुक्तानी र फछ्र्योट प्रणालीको विकासको सम्बन्धमा गरेको अध्ययनप्रति खुशी व्यक्त गर्दै नेपालका लागि कोरियन राजदूत पार्क योङ सिकले अध्ययन प्रतिवेदनले नेपालको भुक्तानी प्रणालीको विकासमा सघाउने विश्वास व्यक्त गरे ।

बैंक अफ कोरियाका वरिष्ठ सल्लाहकार सियुङ टेइ लिमले विद्युतीय भुक्तानी प्रणालीले खर्च घटाएर नेपाल सरकारको काममा पारदर्शिता बढाउने विचार व्यक्त व्यक्त गरे ।

राष्ट्र बैंकका डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीले विद्युतीय भुक्तानी प्रणालीको रणनीति तयार गरिसकेको र त्यसका लागि आवश्यक नीति निर्माणको काम जारी रहेको जानकारी दिए ।

छिट्टै नै वास्तविक समयभित्र भुक्तान हुने व्यवस्था लागू हुने उनको भनाइ थियो । कोरिया सरकारको यस अध्ययनले राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्योट प्रणालीको विकासमा थप सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

नेपालमा भुक्तानी तथा फछ्र्योट प्रणालीको विकासको अध्ययन सम्बन्धमा कोरियाको योङसी विश्वविद्यालयका डाक्टर जोन मो याङ्ले नेपालका लागि भुक्तानी तथा फछ्र्योट प्रणालीको अवस्था र कोरिया विश्वविद्यालयका प्राध्यापक इन सेओक किमले भुक्तानी तथा फछ्र्योट प्रणालीको सञ्चालन प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल राष्ट्र बैंकले आफ्नो प्रक्रियाबाट भुक्तानी प्रणालीको ऐन बनाएर संसद्मा पु¥याएको राष्ट्र बैंकका उपनिर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार नेपालको झुक्तानी प्रणालीलाई कार्ड, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ प्रयोग बढाएको पाइएको छ ।

नेपालमा ४० लाख बढी मानिसले इन्टरनेट बैंकिङ प्रयोग गर्छन् । त्यस्तै ५५ लाख डेभिट कार्ड सञ्चालन प्रक्रियामा रहेको र मोबाइल बैंकिङ पनि प्रभावकारी रहेको शर्माले जानकारी दिए । अबको केही वर्षमा नेपालमा मोबाइलबाटै कारोवार गर्ने वातावरण बनाउने रणनीतिका साथ राष्ट्र बैंक लागेको उनले बताए । रासस


क्लिकमान्डु