रुपन्देहीका सुभाष कुर्मीः जो गाई र माछापालनबाट वार्षिक ६० लाख बचत गर्छन्



लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक ६० लाख बढी बचत गछन् ।

“बिहानदेखि साँझसम्म जति खटे पनि खानलाउन सारै दुःख थियो, जग्गा जमीनले केही हुन्थेन ।” उनले विगत सम्झिँदै भने, “घरमा पालेका दुइवटा गाईको दूध बेचेर जेनतेन घर व्यवहार चलाउँथे ।” अहिले चार पाङ्ग्रे गाडी चढ्न थालेको उनले बताए ।

कृषि विकास बैंकको सहुलियत दरको तीन करोड ऋण अनुदानमा उनले शुरु गरेको व्यावसायिक माछा र गाईपालन राम्रो हुँदै गएपछि अहिले दिनचर्या फेरिएको छ ।

विसं २०६७ मा उनले आठ वटा पोखरीबाट माछापालन गरेका उनले पोखरीमा ग्रास, रहु सिल्भर, कमन, नौनी, विगोट र भाकुर जातका माछा पाल्दै आएका छन् । गतवर्ष पोखरीबाट कुर्मीले ३५० क्विन्टल माछा बिक्री गरेको र यस वर्ष ४५० क्विन्टल बिक्री गर्ने लक्ष्य राखेको कुर्मी बताउँछन् । गतवर्ष नेपालकै सबैभन्दा बढी माछा उत्पादन गर्ने उत्कृष्ट कृषकका रुपमा उनले राष्ट्रिय पुरस्कारसमेत पाइसकेका छन् ।

माछापालनसँगै अहिले उनले गाई फार्मबाट समेत राम्रो कमाइ गरेका छन् । फार्ममा अहिले होलिस्टोन क्रस, जर्सी र लोकल फिजिसियन गरी तीन प्रजातिका गाई छन् । गाईले दिने दूधबाट दैनिक १२५ लिटर बिक्री गर्ने गरेको उनले बताए । साथै उनले चार वटा नर्सरी समेत बनाएका छन् ।

माछा र गाई फार्ममा गरी जग्गाबाहेक चार करोड लगानी गरेका उनी वर्षेनी माछा उत्पादन वृद्धि भइरहेकोमा दङ्ग छन् । पैसा नभएपनि योजना भएपछि सरकारी सहयोग पाइने उल्लेख गर्दै उनले भने, “मैले व्यावसायिक कृषि गर्ने योजना बनाए, सफल गराउन कृषि विकास बैंकले ठूलो सहयोग गर्यो ।”

कृषि विकास बैंक लि क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक मीनराज पोखरेलले कृषि पेसा अङ्गाल्ने कृषकलाई ब्याज अनुदान दिएर प्रोत्साहन गरिँर्दै आएको बताए । उनले भने, “व्यावसायिक कृषि गर्नेलाई प्राथमिकताका साथ सहुलियत दरको ऋण दिने सरकारी योजना नै छ ।”

रुपन्देहीमा अहिले दूध प्रतिलिटर ५० देखि ५२ मा बिक्री हुँदै आएको छ । माछा प्रतिकेजी २०० देखि २५० सम्म बिक्री भइरहेको छ ।


क्लिकमान्डु