१६औं हस्तकला व्यापार मेला कात्तिक २८ गतेदेखि, १० करोडको कारोबार हुने अनुमान



काठमाडौं । कात्तिक २८ गतेदेखि १६ औँ हस्तकला व्यापार मेला सुरु हुने भएको छ । मंसिर २ गतेसम्म चल्ने मेला भृकुटी मण्डपमा हुन लागेको हो ।

मेलामा २ सय बढी स्टलहरु राखिने छन् । मेलामा विदेशी हस्तकला व्यवसायीहरुका सामाग्रीका स्टलहरु पनि राखिने कार्यक्रमका संयोजक हेमरत्न शाक्यले बताए । विदेशी स्टलहरु २० वटा रहने छन् भने अन्य सबै स्टलमा नेपाली हस्तकलाहरु प्रस्तुत हुने छ ।

विदेशी हस्तकला व्यवसायीहरुलाई प्रतिस्टल ६ सय डलर पर्नेछ भने नेपालीहरुका लागि प्रतिस्टल ३० हजार रुपैयाँ पर्ने शाक्यले जानकारी दिए । यस्तै महासंघले जिल्ला बाहिरबाट आएका हस्तकला व्यवसायीका लागि भने स्टल निःशुल्क उपलब्ध गराइने बताए ।

हस्तकलाका सामाग्री बनाउने ज्याला बढेको, तर काम गर्नेहरुको कमि नै रहेको कारण हस्तकलाका सामाग्री महङ्गो पर्न जाने बताए ।

‘नेपालमा सबै हस्तकला हातैले बनाइएको हुन्छ, त्यसमा कुनै मेसिनको प्रयोग नहुने हुँदा विदेशको भन्दा महंगो पर्न जाने, तर नेपालमा पनि हस्तकलाका सामाग्रीमा आदि मेसिन र आदि हातले गर्न सके त्यसको मूल्य कम गर्न सकिन्छ,’ शाक्यले भने । गतवर्ष हस्तकला मेलाबाट ८ करोडको कारोबार भएकोमा यो वर्ष १० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

मेलामा काष्ठकला, धातु, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छाला जन्य सामान, प्राकृतिक रेसा वा वाँसका सामानहरु विक्री तथा प्रदर्शन गरिने छन् ।

यस्तै मेलामा १४औँ हस्तकला प्रतियोगिता गरिने छ । उक्त हस्तकला प्रतियोगितामा मैनको मूर्ति तथा ढाका बुनाईसँग संलग्न कलाहरु प्रत्यक्ष प्रदर्शनी गरिने छ । त्यसमा सहभागि रहेका १५-१५ जना मध्य ३ जनालाई उत्कृष्टलाई पुरस्कृत पनि गरिने शाक्यले बताए ।

प्रथम पुरस्कार राशी ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो पुरस्कारमा २० हजार रुपैयाँ नगद राखिएको छ ।

यस्तै १ करोड देखि ५ करोड रुपैयाँ भन्दा बढी वस्तु निकासी गर्ने निकासीकर्तालाई उत्कृष्ट उद्यमी र उत्कृष्ट कलाकारलाई पनि महासंघले सम्मान गर्ने घोषणा गरेको छ ।

मेलामा प्रवेश शुल्क ५० रुपैयाँ राखिएको छ । विधार्थीलाई ५० प्रतिशत छुट हुने छ भने अपाङ तथा असक्त जेष्ठ नागरिकलाई निशुल्क प्रवेश हुने महासंघले जानकारी दिएको छ ।

मेला सञ्चालनको लागि १ करोड खर्च लाग्ने र २५ लाख रुपैयाँ सरकारले सहयोग गरेको छ भने १ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघले सहयोग गरेको कार्यक्रमका संयोजक शाक्यले पत्रकार सम्मेलनमा बताए ।


क्लिकमान्डु