अन्य चाडपर्वमा पनि नयाँ नोट, राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने



काठमाडौँ । नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ ।

मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती, उधौली पर्व, योमरी पुन्हि(ज्यापु दिवस), क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्रि, फाल्गुपूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा नयाँ नोट सटही गर्न सकिने छ ।

नयाँ नोट काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर,वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु