गगनसँग चुनाब हारेका राजन भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार, को कहाँ नियुक्त ?



काठमाडौं । प्रधानमन्त्री अस्वस्थ रहेको भन्दै लामो समयदेखि नबसेको मन्त्रिपरिषद्को बैठक आइतबार साँझ पाँचबजेदेखि दश बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

बैठकले केही महत्वपूर्ण निर्णय गरेको बताइएको छ । तर सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री गोकूल बाँस्कोटाले समय आएपछि सबै निर्णय सार्वजनिक हुने भन्दै कुनै पनि निर्णय सार्वजनिक गरेनन् ।

बिहानदेखि सामाजिक सञ्जालमा आइतबारको मन्त्रिपरिषद्को निर्णय भन्दै बधाइका ओइरो लागेका छन् ।

खासगरी काठमाडौं क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका युवा नेता गगन थापासँग पराजित भएका राजन भट्टराईलाई प्रधानमन्त्रीको वैदेशिक मामिला सल्लाहकारमा नियुक्त गरिएको छ ।

यस्तै सरकारले भारतका लागि नेपाली राजदूतामा निलाम्बर आचार्यलाई नियुक्त गरेको छ । आचार्य विगतमा काँग्रेस निकट भएपनि पछिल्लो दिनमा उनले प्रधानमन्त्री ओली राजनेता भएको भन्दै विभिन्न पत्रपत्रिकामा लेख समेत लेख्दै आएका थिए ।

निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिलाई गरिएको सिफारिश विवादमा परेपछि आचार्यलाई प्रस्ताव गरिएको छ ।

यस्तै सरकारले नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृतमा रमन नेपाललाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकका कर्मचारी रहेका नेपाललाई कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको विषय समेत आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन ।

यस्तै निर्णय भएको तर सार्वजनिक नभएको अर्को नियुक्त राष्ट्रिय खेलकूद परिषद्को पनि हो । आइतबारको बैठकले परिषद्को सदस्यमा पिताम्बर तिमिल्सिना र इन्दिरा निरौलालाई नियुक्त गरेको छ ।

अन्य धेरै निर्णय भएको भएपनि कुनै पनि निर्णय सार्वजनिक गरिएको छैन । सूचनाको हकअनुसार पनि सार्वजनिक हुनुपर्ने निर्णय लुकाएर राखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भएको छ ।


पुष्प दुलाल