३ महिनाभित्रै पुनः बीमा कम्पनीको आइपिओ



काठमाडौं । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ ।

आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ ।

नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा रासससँगको सङ्क्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महीनाभित्रमा आइपिओ जारी हुने बताए ।

७ अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उहाँले भारत सरकारका स्थापित ४ वटा बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धि भएको बताए।

प्रभावकारी पुनः बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले १ अर्ब ५० करोड कम्पनीले बीमा शुल्क आर्जन गरेको जानकारी दिए । उनले अन्तर्राष्ट्रियस्तरका ११ वटा कम्पनीसँग कारोवार भइरहेको बताए ।

यसैबीच कम्पनीको पाँचौं वार्षिकोत्सवको आज ललितपुरमा उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले आर्जन भएको मुनाफा देशको भौतिक पूर्वाधार निर्माण एवम् जलविद्युत् उत्पादनमा उपयोग हुनुपर्नेमा जोड दिए ।

‘पूँजी बजारको अभिन्न अङ्ग पुनः बीमा क्षेत्रले कमाएको नाफा शहरी पूर्वाधार तथा जलस्रोतमा लगानी गर्नुपर्छ,’ उनले भने ।

किसानलाई बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले लघुबीमा प्रवद्र्धन अपरिहार्य भएको बताए ।

विदेशी मुद्रा सञ्चितिमा पुनः बीमाबाट केही योगदान भएको बताउँदै उनले पुनः बीमाको क्षेत्रलाई अझ सघन तुल्याउन उत्तिकै आवश्यक भएको पनि उल्लेख गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गाउँ–गाउँमा बीमा सेवा प्रवाह हुनुपर्छ भन्दै जीवन बीमामा ३१ र निर्जीवन बीमा १८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । रासस


पुष्प दुलाल