अनलाइन कारोबारका लागि २६ सय लगानीकर्ताले लिए युजरनेम र पासवर्ड, अब उधारो सेयर कारोबार बन्द



काठमाडौं । आजको दिनसम्म सेयर खरिदबिक्री कसरी हुन्थ्यो । कुनै कम्पनीको सेयर खरिद गर्नुपर्ने भए ब्रोक्ररलाई सेयर खरिद गर्न आग्रह गर्नुपर्ने हुन्थ्यो । ब्रोक्ररले खरिदको अर्डर दिन्थ्यो ।

सो अनुसारको बिक्रीकर्ता भए सेयर खरिद गर्न पाइने अवस्था थियो । सेयर खरिद भएको तीन देखि चारदिनभित्रमा तपाईले ब्रोक्ररलाई पैसा दिने गर्नुहुन्थ्यो । अर्थात सेयर कारोबार विश्वासमा चलेको थियो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मंगलबारदेखि सेयर खरिदबिक्री प्रक्रियामा अनलाइन प्रणाली लागु गर्दै छ । अर्थमन्त्री डा युवराज खतिवडाले अनलाइन मार्फत हुने सेयर खरिदबिक्रीको औपचारिक सुरुवात गर्दैछन् । तत्कालको लागि पूर्ण रुपमा सेयर कारोबार अनलाइन मार्फत भने हुँदैन । लगानीकर्ताले पुरानो तरिकाले नै सेयर खरिदबिक्रीको आदेश दिनेछन् भने ब्रोक्ररले अनलाइन मार्फत खरिदबिक्रीको काम गर्ने छन् ।

स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरत रानाभाट भोलिको दिन नेपाली सेयरको बजार इतिहासमा एउटा ठूलो फड्को मार्ने दिनको सुरुवात हुने बताउँछन् ।

‘सेयर बजारको विकासको लागि यो एउटा ठूलो परिवर्तन हो,यसले सेयर बजारको दायरालाई फराकिलो पार्ने छ।’उनले क्लिकमाण्डूसँग भने ।

अनलाइन मार्फत जुनसुकै स्थानबाट पनि सेयर खरिदबिक्री गर्न सकिन्छ । जसले लगानीकर्तालाई सेयर ब्रोक्ररको कार्यालयमा जानुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

अनलाइन मार्फत सेयर खरिद बिक्री गर्नको लागि लगानीकर्ताले आफुले कारोबार गरिरहेको सेयर ब्रोक्रर कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनुपर्ने हुन्छ । लगानीकर्ताले ब्रोक्रर कार्यालयबाट युजरनेम र पासवर्ड पाएपछि त्यसलाई बोक्रर कार्यालयले नेप्सको सिस्टमसँग जोड्ने छ ।

युजरनेम र पासवर्ड पाएपछि लगानीकर्ताले सेयर खरिदबिक्रीको आदेश दिने छन् । ब्रोक्रर कार्यालय मार्फत यस्तो आदेश नेप्सेमा पुग्छ । नेप्सेले सेयर खरिदबिक्री आदेशको तथ्यांक संकलन गर्नको लागि सिडिएस एण्ड क्लियरिङमा पठाउने छ । सिडिएसले तथ्यांक संकलन गरेपछि त्यो आदेश नेप्सेलाई पठाउछ । नेप्सेले ब्रोक्ररलाई ।

बोक्ररले त्यो आदेश पाएपछि सेयर खरिद गर्नको लागि जम्मा गर्नुपर्ने रकम २५ प्रतिशत भएको नभएको तथ्य जाँच गर्छ । हितग्राही खातामा भएको सेयर तथा बैंक खातामा भएको ब्यालेन्स चेक गरेपछि सेयर खरिदबिक्रीको काम हुन्छ । पैसा बैंकबाट सिधै खातामा जान्छ भने सेयर हितग्राही खातमा जम्मा हुन्छ ।

ब्रोक्रर एशोसियनका अध्यक्ष रानाभाट अनलाइन कारोबारपछि सेयर कारोबारमा उधारो कारोबार बन्द हुने बताउँछन् ।

‘खरिदकर्ताको बैंक खातामा आवश्यक रकम नभएमा सेयर खरिदको आदेश स्वत रद्द हुन्छ,जसले गर्दा सेयर कारोबारमा उधारो कारोबार बन्द हुन्छ।’रानाभाटले भने ।

लगानीकर्तालाई इन्टरनेट जोडिएको स्थानमा बसेर आफुले सेयर खरिदबिक्रीको आदेश दिनुमिल्छ । जसले गर्दा लगानीकर्ताको समयको बचत हुन्छ । मात्र चल्नुपर्ने भनेको इन्टरनेट हो । ब्रोक्रर कार्यालयको पनि यसले लागतलाई घटाउने छ ।

‘अहिले सेयर खरिदबिक्रीको आदेशको लागि तीनदेखि चारजना कर्मचारी बस्नुपर्ने अवस्था थियो, अब त्यो अवस्था रहने हुँदैन,’रानभाटले भने ।

उनले एउटा शाखामा कर्मचारी भएपनि अर्को शाखामा भने बढ्ने भन्दै पैसा जम्मा गर्न जाने काम ब्रोक्रर कार्यालयबाट गर्नु नपर्ने बताए ।

नेप्सेले अनलाइनको सेयर खरिदबिक्रीको लागि परिक्षण गर्नको लागि लगानीकर्तालाई आह्वान गरेको थियो । अहिलेसम्म ब्रोक्रर कार्यालयहरुबाट २६ सय लगानीकर्ताले अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिएका छन् । यो संख्या भने अब हरेक दिन बढ्ने छ ।


क्लिकमान्डु