तीन महिनामा १ अर्ब ८८ करोड रुपैयाँको आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति



काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धितोपत्र बोर्डले १ अर्ब ८८ करोड रुपैयाँको सार्वजनिक निष्कासन(आइपिओ) को अनुमति दिएको छ ।

पहिलो तीन महिनामा २५ वटा संगठित संस्थाहरुले आइपिओको लागि अनुमति माग गरेका थिए ।

निवेदन दिएका मध्ये ३ वटा जलविद्युतकम्पनीहरु र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशनगर्न अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

आईपीओ अनुमतिको प्रकृयामा रहेका मध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पूनरावलोकनको प्रकृयामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको छ भने प्रकृयामा रहेका ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपिओ निष्काशन गर्न सूचित गरिएको छ ।

त्यस्तै १ वटा संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १९ वटा संगठित संस्थाले आइपिओको लागि अनुमति माग गरेका थिए । बोर्डले एउटा कम्पनीलाई १ करोड ८० लाख रुपैयाँको आइपिओ निष्कासन अनुमति दिएको थियो ।


क्लिकमान्डु