यी १७ स्थल प्रदेश नम्बर ३ का नयाँ पर्यटकीय गन्तव्य(सूचि सहित)



काठमाण्डौ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ओझेलमा परेका १ सय वटा नयाँ पर्यटकीय गन्तव्य स्थल निर्धारण गर्दा प्रदेश नम्बर ३ का १७ स्थल छनौटमा परेका छन् ।

प्रदेश ३ अन्तरगत दोलखा जिल्लाको जिरी सैलुङ पदमार्ग नयाँ पर्यटकीय स्थलमा छनौट भएको छ । सिन्धुली जिल्लाको सिन्धुलीगढी, रामेछाप जिल्लामा पर्ने सुनकोशी र्याफ्टिङ, काभ्रे जिल्लाको महाभारत ट्रेल(लाँकुरीभञ्ज्याङ, फुल्चोकी गुर्दुमडाँडा, नारायणस्थान, भूमेचुली पदमार्ग) र सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुँदैछन् ।

त्यसैगरी, नुवाकोट जिल्लाको कल्चेडी दुप्चेश्वर, देवीघाट, भैरवी, दुप्चेश्वर सर्किट, रसुवा जिल्लाको तामाङ हेरिटेज ट्रेयल, धादिङ जिल्लाको स्काई ट्रेयल, रानीझरना क्यालोनिङ, चितवन जिल्लाको वीस हजारी ताल, सोमेश्वर गढी र पटिहानी पर्यटकीय क्षेत्र नयाँ पर्यटकीय क्षेत्रमा छनौट भएका छन् ।

यसैगरी, मन्त्रालयका अनुसार मकवानपुरको मकवानपुर गढी, भक्तपुरको निलबाराही मन्दिर\पार्क, काठमाण्डौको दहचोक र ललितपुरको नागदह पर्यटकीय क्षेत्र तथा गोदावरी फूलचोकी हाइकिङ नयाँ पर्यटकीय क्षेत्र छानिएका छन् ।

मन्त्रालयले देशभरबाट सार्वजनिक सूचना आह्वान गरी नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस भएको आधारमा नयाँ पर्यटकीय गन्तव्य छनौट गरी सार्वजनिक गरेको छ ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइने छ ।

सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय गन्तब्यलाई विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने मन्त्रालयले जनाएको छ । नयाँ छानिएका पर्यटकीय स्थलको विकासमा सरकारले यसै वर्षबाट बजेट बिनियोजन गरी पूर्वाधार निर्माणको काम गर्ने बताएको छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा ७७ वटै जिल्लामा १ सय थप नयाँ पर्यटकीय गन्तव्य विकासको काम अघि बढाएको हो । मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालका अनुसार ती नयाँ गन्तव्यका लागि चालु आर्थिक वर्ष मै ५० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

सो बजेट आवश्यकता अनुसार पूर्वाधार विकासमा खर्च गरिने उनले बताए । उनले भने-बजेट खर्च गर्ने मोडालिटीको टुङ्गो लगाउन भने बाँकी छ ।


क्लिकमान्डु