ताराखोलामा कागज उद्योग सञ्चालन, दैनिक ४ सय थान उत्पादन



बागलुङ । ताराखोला गाउँपालिका–५ मा ‘डुडे लेक नेपाली हाते कागज उद्योग’ सञ्चालनमा आएको छ । छ उद्यमीले दुई लाखको लगानीमा सो उद्योग खोलेका हुन् ।

उद्योगले एक महिनादेखि कागज उत्पादन गर्दै आएको छ । उद्योगका सञ्चालक प्रेमबहादुर रोकाका अनुसार दैनिक चार सय थान कागज उत्पादन भइरहेको छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घले उद्योगलाई लोक्ता फिट्ने (झोल बनाउने) उपकरण उपलब्ध गराएको छ । यसअघि जङ्गलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज उत्पादन गरिँदै आएको थियो ।

“उपकरणको प्रयोगले कागजको मात्रा र गुणस्तर बढेको छ,” रोकाले भने । स्थानीय सामुदायिक वनबाट किसानले सङ्कलन गरेको लोक्ता प्रतिकिलो ७० मा उद्योगले खरिद गर्ने गरेको छ । सामुदायिक वनले पनि उद्योगबाट प्रतिकिलो पाँच शुल्क लिने गरेका छन् ।

गाउँलेले डुडे लेक र अल्बाङ सामुदायिक वनबाट लोक्ता सङ्कलन गर्दै आएका छन् । “बजारमा नेपाली कागजको माग अत्यधिक छ,” अर्का उद्यमी हर्कबहादुर घर्तीले भने । चालीस ग्रामको कागजको मूल्य ३० तोकिएको छ ।

बढीजसो हस्तकला व्यवसायीले कागज खरीद गर्ने गरेका छन् । उद्योगलाई थप आधुनिकीकरण गरी दिगो रुपमा सञ्चालन गर्ने उद्यमीको योजना छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममा पनि बागलुङको हाते कागज उद्योग छनोटमा परेको थियो ।


क्लिकमान्डु