हरिवन नगरपालिकाः तिरोमा ७५ प्रतिशत छुट, गर्भवतीलाई आँपको दुईटा विरुवा सित्तैमा




काठमाडौं । नेपालको प्रदेश नम्बर २ मा पर्छ सर्लाही जिल्ला । सर्लाही जिल्लामा कूल २० स्थानीय तहमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँ पालिका छन् । त्यही ११ नगरपालिका मध्ये हरिवन नगरपालिका एक हो ।

हरिवन नगरपालिकाका मेयर हुन् गणेशप्रसाद प्रसाईँ, उपमेयर छिन् रेनुकाकुमारी पौडेल । हरिवनमा गणेशको टिम निर्वाचित भएको डेढ वर्ष पुगेको छ । यो अवधिमा के–के काम भएका छन् त ? मेयर प्रसाईँसँगको कुराकानीमा आधारित साम्राग्री यहाँ पस्केका छौं ।

तिरोमा ७५ प्रतिशत छुट
मेयर प्रसाईँका अनुसार हरिवन नगरपालिकाले सबै जनतालाई करको दायरामा ल्याउन र कर तिर्नु पर्छ भन्ने भावना जागृत गर्न सम्पत्ति कर अन्तरगत जमिनको तिरोमा ७५ प्रतिशत छुट दिने ब्यवस्था गरेको छ ।

‘मालपोत कार्यालयबाट तोकिएको तिरो दरमा ७५ प्रतिशत छुट दिएका छौं, तोकिएको करको २५ प्रतिशतमात्र लिएका छौं, जनतालाई करको दायरामा ल्याउने र सहुलियत दिने अभिप्रायले यस्तो गरिएको हो,’ मेयर प्रसाईँले भने ।

व्यवसायिक फलफूल खेति गर्नेलाई यस्ता छन् अवसर
हरिवन नगरपालिका क्षेत्रमा १० कठ्ठाभन्दा बढी जमिनमा फलफूल खेति गर्ने किसानलाई नगरपालिकाले निःशुल्क रुपमा बिरुवा उपलब्ध गराउँदै आएको छ । उत्पादनसँग स्थानीय जनतालाई जोड्नका लागि यसो गरिएको मेयर प्रसाईँ बताउँछन् ।

यसैगरी, नगरपालिकाका चुरे क्षेत्रमा रहेका सुख्खा क्षेत्रमा बसोवास गर्ने विपन्न जनतालाई लक्षित गर्दै उनीहरुलाई पनि आयआर्जनमा जोड्न यस वर्ष १० हजार फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराउन थालिएको छ ।

नगरलाई व्यवस्थित बनाउने पहल यस्तो छ
हरिवन नगरलाई व्यवस्थित बनाउन दीर्घकालीन कार्ययोजना बनाउने काम भइरहेको मेयर प्रसाईँ बताउँछन् । हरिवनलाई सुन्दर नगरका रुपमा विकास गर्न निर्वाचित भएर आउना साथ प्लास्टिक मुक्त नगर घोषणा गरिएको उनले बताए ।

बजार क्षेत्रको एउटा वडामा ७ धुर र अरु वडाहरुमा १० धुर भन्दा कम जग्गामा घर बनाउन पाउने छैनन् । यो भन्दा घटीको कित्ताकाट नै हुँदैन । र, नक्सा पासपनि हुँदैन ।

एक गर्भवती र २ विरुवा अभियान
पछिल्लो तथ्याङ्क अनुसार हरिवन नगरभित्र गर्भवती महिलाको संख्या ६ सय ८५ छ । ती प्रत्येक गर्भवतीलाई नगरपालिकाको तर्फबाट २–२ वटा आँप सहितका फलफूलका विरुवा उपलब्ध गराइएको छ ।

यसबाट गर्भवतीहरुलाई नगरपालिकाको चिनो पनि हुने र त्यसले बातावरण स्वच्छ बनाएर भविश्यका सन्तानको भविश्य सुन्दर हुने परिकल्पना नगरपालिकाको छ ।

‘नगरपालिकाको तर्फबाट बाँडिएका ती बिरुवा गर्भवतीहरुले रोपेका छन,’ –मेयर प्रसाईँ भन्छन् ।

६ सयलाई व्यवसायिक सीप तालिम
हरिवन नगरपालिकाले १ वर्षको अवधिमा ६ सय युवा युवतीलाई व्यवसायिक तालिम प्रदान गरेको छ । मैनबत्ति बनाउने, जुत्ता बनाउने, व्यूटी पार्लर, सिलाई जस्ता तालिम प्रदान गरिएको छ ।

तालिमपछि व्यवसाय गर्न चाहनेहरुका लागि नगरपालिकाले सहुलियत समेत दिंदै आएको छ । सिलाई व्यवसाय गर्न चाहने र ७ जनाको समूह बनाएर आएमा एउटा सिलाई मेशिन र एउटा इन्टरलक मेशिन नगरपालिकाले उपलब्ध गराउँदै आएको मेयर प्रसाईँले बताए ।

बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य जाँच
सर्लाही जिल्लाको हरिवन नगरपालिकामा गुणस्तरीय स्वास्थ्य संस्था पायक पर्ने ठाउँमा छैनन् । त्यसकारण प्रत्येक वडामा वर्षमा १ पटक सामुदायिक विद्यालयका विधार्थी र ज्येस्ठ नागरिकका लागि स्वास्थ्य जाँच शिविर सञ्चालन गर्ने योजनामा नगरपालिका अघि बढेको छ ।

जनप्रतिनिधि आएपछि के–के उपलब्धी भए त ?
हरिवन नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै वडामा बिजुली बत्तिको सुबिधा पुगेको छ । स्वच्छ खानेपानीको व्यवस्थाका लागि ४० वटा इनार खनेर जनतालाई सुबिधा उपलब्ध गराइएको छ । त्यसैगरी ६० वटा समरसेल धारा जडान गरी स्थानीय जनतालाई खानेपानीको सुबिधा उपलब्ध गराउने काम भएको मेयर प्रसाईँले बताए ।

अहिले हरिवन नगरपालिका क्षेत्रका सडक फराकिलो पार्ने, भएका खाल्डाखुल्डी पुर्ने काम भएको छ । १८ किलोमिटरको रिङरोडको अबधारणामा नगरपालिका अघि बढेको छ ।

‘रिङरोडको ट्रयाक खोल्ने काम भएको छ, आगामी दिनमा सो रिङरोडमा पिच गरिनेछ,’ मेयर प्रसाईँ भन्छन् ।

नगरक्षेत्रमा रहेका ४ वटा स्वास्थ्य चौकीमध्ये शासापुर स्वास्थ्य चौकीमा ल्याब स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नगरपालिकाले पहल गरेको छ । र, आगामी दिनमा बाँकी ३ वटामा पनि ल्याब स्थापना गरिने योजना छ ।

ती स्वास्थ्य चौकीहरुलाई अस्पतालका रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको मेयर प्रसाईँले बताए ।

सबै विद्यालयमा बिद्युतीय हाजिरी
नगरक्षेत्रमा २८ वटा सामुदायिक विद्यालय छन् । विद्यालयका शिक्षक र कर्मचारीहरुलाई कामप्रति जिम्मेवार बनाउन नगरपालिकाको तर्फबाट बिद्युतीय मेशिन जडान गरी विद्युतीय हाजिरीको व्यवस्था शुरु गरिएको छ । नगरका कुनैपनि बालबालिका विद्यालय बाहिर नहुन् भनेर प्रयासरत रहेको मेयर प्रसाईँ बताउँछन् ।

सबै सामुदायिक विद्यालयमा शौचालयको व्यवस्था गर्न, विद्यालयहरुका सबै कोठामा पंखा जडान गर्न र प्ले ग्रुपको पढाई शुरु गर्न तथा त्यहाँ पढाउने शिक्षक शिक्षिकालाई तालिम पनि नगरपालिकाको तर्फबाट उपलब्ध गराइएको छ ।

नगरपालिकामा रहेको चतुर्भुेजेश्वर जनता बहुमुखी क्याम्पसमा पढ्ने विधार्थीहरुको सुबिधाका लागि नगरपालिकाले एउटा बस उपलब्ध गराएको छ । घरमा बसीबसी आफ्नै नगर भित्र एमएमसम्मको पढाईका लागि सहजता उपलब्ध गराउन नगरपालिकाले बस खरिद गरी उपलब्ध गराएको मेयर प्रसाईँ बताउँछन् ।

१६ करोडको लागतमा व्यापारिक कम्प्लेक्स बन्दै
नगरपालिकाले नगरक्षेत्रको ३१ कठ्ठा जग्गामा व्यवस्थित व्यापारिक कम्प्लेक्स निर्माण गर्ने भएको छ । त्यसका लागि नगर विकास कोषबाट १६ करोड ऋण लिइएको छ ।

एक वडा एक उत्पादनको अवधारणा
हरिवन नगरपालिकाले १ वडा १ उत्पादन भन्ने अभियानपनि चलाएको छ । ३ वटा वडालाई अग्र्यानिक तरकारी केन्द्रका रुपमा विकास गरिंदैछ ।

‘वडा नम्बर ५, ६ र ७ को माटोपनि अग्र्यानिक बनाउने र बिरुवा तथा उत्पादन समेत अग्र्यानिक बनाउने योजना छ,’ मेयर प्रसाईँले भने ।

२ वटा वडालाई फलफूल केन्द्र, १ नम्बर वडालाई बाख्रा पालन र पशुपालन क्षेत्रका रुपमा विकास गरिने र अन्य सुख्खाग्रस्त वडालाई बैज्ञानिक ढंगले उखु खेतिका लागि नगरपालिकाले उपयुक्त बाताबरण बनाउने मेयर प्रसाईँले बताए ।

भ्यूटावर र रिफ्रेस सेन्टर पनि
केही वर्षभित्रै नगर क्षेत्रको कैलाशपुरमा भ्यूटावर बनाउने र त्यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ । ५ करोड रुपैयाँको लागतमा सो स्थानसम्म बाटो पुर्याउने काम सम्पन्न गरी कार्य प्रारम्भ भइरहेको छ । १ वडा, १ पार्कको अवधारणालाई पनि ५ वर्षे कालकाल अवधिमा पूरा गर्ने मेयर प्रसाईँले प्रतिबद्धता जनाएका छन् ।

‘सबैको साथ सहयोगबाट जनमुखी योजनाहरु पूरा हुनेछन्,’ उनी भन्छन् ।

हरिवन नगरपालिकाको संक्षिप्त परिचय
हरिवनको नामाकरणको सन्दर्भमा ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिका अनुसार विभिन्न किवंदन्ती पाईन्छ । प्रथमतः प्राचिन कालमा राजा जनकका भाइले हालको वडा नं ९ मा एउटा पोखरी खनेका थिए ।

त्यसताका उक्त पोखरीमा सयौंका संख्यामा हरिणहरु चर्दै पानी पिउने ठाँउ भएकोले हरिणबाट हरिवन भएको, दोस्रो भगवानको नाम हरि ओमबाट हरिवन भएको, तेस्रो हालको सिन्धुली जिल्लाको धिमालको चुरेमा रहेको बस्तिबाट दक्षिण समथल भावगमा हेर्दा हजारौं दुरीसम्म हरियो वन देखिने भएकोले पछि अपभ्रंस भई हरिवन भएको भन्ने रहेको छ ।

यसर्थः हरिण, हरिओम र हरियो वन जस्ता शब्दहरु अपभ्रंश भई विस्तारै हरिऔन हुदै हरिवन नामाकरण भएको जनविश्वस छ ।

हाल हरिवन नगरपालिकाको जनसंख्या ५६ हजार रहेको छ । यो नगरपालिका ११ वटा वडामा बिभाजित रहेको छ । तत्कालीन हरिवन, अत्रौली, शासापुर र घुर्कौली गाविस मिलेर हरिवन नगरपालिका घोषणा भएको हो ।

हरिवन नगरपालिकाको सीमानामा पूर्व लखनदेही खोला र पथरकोट र लालबदन्दी नगरपालिका, पश्चिम हरिवन खोला बागमती नगरपालिका, उत्तर हरिहरपुरगडी गाउँपालिका सिन्धुली र दक्षिण हरिपुर नगरपालिका क्षेत्र पर्दछ । यो नगरपालिका ८६.०६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।


क्लिकमान्डु