महासंघ-कतार उवासंघबीच व्यवसायिक तथा लगानी विस्तारको प्रतिबद्धता



काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारी बीच संघको दोहास्थित मुख्यालयमा उच्चस्तरीय व्यवसायिक भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा नेपाली पक्षको नेतृत्वमा महासंघका अध्यक्ष राणाले र कतारी पक्षको नेतृत्व संघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल–कवारीले गरेका थिए ।

बैठकमा महासंघका उपाध्यक्ष एवं प्रतिनिधिमण्डलका सदस्य चन्द्रप्रसाद ढकाल र सदस्यहरू तथा कतार उवासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । राष्ट्रपतिको कतारको औपचारिक भ्रमणका साथ अहिले कतारमा रहेको महासंघको प्रतिनिधिमण्डल विभिन्न महत्वपूर्ण व्यवसायिक भेटवार्तामा व्यस्त रहेको छ ।

व्यवसायिक भेटवार्तामा महासंघ र कतारउवासंघ बीच सन् २००५ मा सम्पन्न सहमतीका भावनालाई मनन गरी दुबै पक्षबाट आउने दिनमा आपसी व्यापार तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रहरूलाई उजागर गरी कृषि, पर्यटन, उर्जा, पूर्वाधार विकास लगायतका क्षेत्रमा कार्य गर्न संयुक्त रूपमा अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।

बैठकमा महासंघका अध्यक्ष राणाले नेपाल–कतार व्यावसायिक सम्भाव्यता विषयमा प्रस्तुती दिनुहुँदै राष्ट्रपतिबाट भएको कतारको औपचारिक भ्रमण तथा दुई पक्षीय व्यवसायिक भेटवार्ता दुवै देशको आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा समेत अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।

अध्यक्ष राणाले नेपालमा कतारी लगानी आकर्षणका लागि कतार उवासंघबाट सहयोगको अपेक्षा समेत नेपाली निजी क्षेत्रले गरेको बताउँदै यस कार्यमा महासंघले संघसँग नियमित सम्पर्कमा रहेर कार्य गर्ने धारणा राखिन् ।

महासंघका उपाध्यक्ष ढकालले दुवै देशबीच पर्यटन, बैक तथा वित्तिय लगायतका अन्य सम्भाव्य क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा जोड दिए । साथै उपाध्यक्ष ढकालले बैठकमा, कतार नेपालको प्रमुख रोजगार गन्तव्य समेत भएकाले कतारमा काम गरेर फर्केका उच्च शीप हासिल गरेका अनुभवी नेपालीहरूलाई समेत लक्ष्य गरी नेपालमा संयुक्त लगानी ल्याउन जोड दिए । ।

त्यसअघि महासंघ प्रतिनिधिमण्डलको स्वागत गर्दै कतार उवासंघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल–कवारीले नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघको संयुक्त सहयोगमा द्विपक्षीय व्यापार तथा व्यवसायिक अवसरहरू बढाउनु पर्ने धारणा राखे ।

बैठकमा महासंघका कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराई, नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारि अधिकृत बिजयबहादुर शाह र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी सहभागी थिए ।


क्लिकमान्डु