योग्य व्यक्ति नभेटिएपछि ८ बीमा कम्पनीमा सीइओ खाली



काठमाडौं । बीमा समितिले २०७४ सालमा नयाँ १२ वटा कम्पनीलाई संचालनको अनुमति दियो ।

बीमा समितिले ९ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जसले गर्दा बीमा कम्पनीमा काम गर्ने दक्ष जनशक्तिको अभाव भयो ।

पुराना कम्पनीबाट नयाँ कम्पनीमा जानेको लर्को नै चल्यो । जसले अहिले पनि बीमा कम्पनीमा दक्ष जनशक्तिको अभाव छ ।

अहिले संचालनमा रहेका ८ वटा बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छैनन् । बीमा समितिले बनाएको संस्थागत शुसासन निर्देशिकामा कुनैपनि कम्पनीले ३ महिनाभन्दा बढी सिइओ पद खाली राख्द मिल्दैन ।

६ वटा नयाँ बीमा कम्पनी र २ वटा पुराना बीमा कम्पनीमा सीइओ पद खाली छ । जसमा ५ वटा जीवन बीमा कम्पनी र ३ वटा वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

सीइओ खाली हुने बीमा कम्पनीमा ज्योति लाइफ, एलआईसी नेपाल, सानिमा लाइफ, प्रभु लाइफ तथा सन लाइफ इन्स्योरेन्स रहेका छन् ।
यस्तै युनाइटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्समा सीइओ छैन । सीइओ नहुने बीमा कम्पनीमा एलआईसी र युनाइटेड पुरानो कम्पनी हुन् ।

अहिले ज्योति लाइफ इन्स्योरेन्समा प्रकाश बिक्रम खत्रीले डेपुटी सिइओको रुपमा कम्पनीमा नेतृत्व गरेका छन् । एलआईसी नेपाल, अभिजित घोष देशार निमित्त सिइओ छन् । एलआईसी नेपालमा भारतको एलआईसीले नै सिइओ पठाउने गर्छ । नयाँ कम्पनी सानिमा लाइफ इन्स्योरेन्सको नेतृत्व केशवराज केसी डिजिएमको रुपमा गरिराखेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सले पनि निमित्त प्रमुख कार्यकारी किशोरप्रसाद लामिछानेलाई दिएर कम्पनी चलाइरहेको छ ।

सन नेपाल लाइफ राजकुमार अर्याल निमित्त सिइओ छन् । उनी बीमा समितिमा पहिले उपनिर्देशकको रुपमा कार्यरत थिए ।

यस्तै युनाइटेड इन्स्योरेन्समा शेखर बरालले राजिनामा दिएपछि रमेश कुमार भट्टराई कामु सिइओको रुपमा कार्यरत छन् ।

नयाँ निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्समा एसके तमोटलाई महाप्रवन्धकको जिम्मेवारी दिएको छ । उनले नै अहिले कम्पनीको नेतृत्व गरेका छन् ।

सानिमा जनरल इन्स्योरेन्सले एजिएम तहको कर्मचारीले कम्पनीको नेतृत्व गरेको अवस्था छ । राजु पौडेललाई एजिएम दिएको छ । उनले अहिले सानिमा जनरलको नेतृत्व गरेका छन् ।


पुष्प दुलाल