निकुञ्ज प्रवेश शुल्क बढ्यो, अब राजश्व बृद्धि हुने, कसले कति तिर्नु पर्छ ?

84
Shares

चितवन । सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५०, सार्क देशकाले एक हजार र विदेशीले दुई हजार तिर्नुपर्ने भएको छ ।

यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले ११३, सार्कले ८४७.५० र विदेशीले एक हजार ६९५ तिर्नुपर्ने हुन्थ्यो । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले रु तीन हजार र जिपले पाँच हजार तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले चार हजार ५२० तिर्नुपर्ने हुन्थ्यो ।

यसैगरी हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई ५००, सार्कलाई एक हजार ५०० र विदेशीलाई दुई हजार ५०० निर्धारण भएको ढकालले बताए । यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन ।

हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ । हाल हात्तीमा घुम्ने नेपालीले एक हजार १००, सार्क मुलुककाले एक हजार ६०० र विदेशी दुई हजार १०० हात्तीका लागि तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि एक हजार २५० व्यवसायीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको ढकालले बताए ।

होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जनाएका छन् । ढकालले भने पूर्व जानकारी भएमा घटाउन लबिङ हुने हुँदा एकै पटक शुल्क सार्वजनिक गर्ने गरिएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६५० र सवारी शुल्कवापत तीन करोड २५ लाख ६० हजार राजश्व सङ्कलन गरेको थियो ।

निकुञ्जले कूल राजश्व रु २४ करोड ८१ लाख ९९ हजार ९९८ सङ्कलन गरेको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । रासस