अमेरिका : जब खसीबजारमा भेटिन्छन् नेपाली !



बाल्टिमोर(अमेरिका) । अमेरिकामा पनि खसी पाईन्छ र ? खसी कहिले ल्याउने ? कसरी बनाउने ? कत्तिको महंगो पर्छ ? कति टाढाबाट ल्याउनुपर्छ ? अरुले पनि खसी खान्छन् ? धेरै जसो अरु जनावरको मासू खाने देशमा भएको कारणले पनि होला नेपालबाट यस्ता प्रश्नहरु दशैंको समयमा बारम्बार आईरहने गर्दछन् ।

नेपालबाट १२ हजार ७ सय २५ किलोटिर टाढा अमेरिकामा राष्ट्रव्यापी रुपमा दशैं त मनाईदैन किनकि यो हिन्दुहरुको पर्व हो । अमेरिका बहुसंख्यक क्रिसियनहरु भएको देश हो तर यहाँ सबै किसिमको धर्म मान्ने मानिसको बसोबास छ । यो हिसाबले हिन्दु नेपाली र भारतीयहरु आ -आफ्नो चलन अनुसारको दशैं यहाँ पनि मनाउँछन् । विशेषगरेर नेपालमा परिवारसंग मिलेर मनाईने यो दशैं अमेरिकामा साथीभाई र नेपाली नेपाली मिलेर पनि मनाउने गरिन्छ ।

नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रमा दशैंको बेला नेपालको जस्तै माहोल बन्ने गरेको छ । दशैं भन्ने वित्तिकै धेरैतिर मासुको याद आईहाल्छ । दशैंमा अमेरिकामा रहेका आफ्ना आफन्त कतै मासुविनै पो रहने हुन् कि भन्ने चिन्ताले हुनसक्छ यो समयमा नेपालबाट धेरै खसी प्रश्नहरु आउने गर्दछ ।

खसी पाईन्छ कि पाईदैन ?

दशैं भन्नेवित्तिकै नेपालमा साथीभाई आफ्ना आफन्तको प्रश्न आउँछ अमेरिकामा दशैंमा खसी पाईन्छ कि पाईदैन ? यसको एकमुष्ट उत्तर हो मज्जाले पाईन्छ । यहाँ पनि खसी बाख्रा पाल्ने फार्म(खसी बजार जस्तै) हुन्छ । दशैंको समयमा नेपालीहरु आफूलाई मन परेको खसी छान्न फार्म मै पुग्ने गरेको हुन्छन् ।

नेपालमा जस्तो खसी किनेर आफैंले घरमा ल्याएर काट्न(बध गर्न) भने यहाँ पाईदैन । कुनै कुनै राज्यमा कानूनी रुपमा स्वीकृती लिएर घरमै खसी काट्न पाउने व्यवस्था भएपनि त्यो झन्झटिलो छ । धेरै जसो क्षेत्रमा खसी किन्ने फार्म(खसी बजारमै) आफूले छानेको खसी काटिदिने व्यवस्था गरिएको हुन्छ । आफूलाई मन परेको खसीलाई आफ्नो हिसाबले काट्न लगाएर मासु मात्रै बोकेर घर ल्याउने काम गरिन्छ । खसी मात्र होईन यहाँ खानेहरुको लागि कुखुरा, हाँस, सूगुर बंगुर र गोरु समेत यस्ता बजारमा किन्न पाईन्छ । यो सबै जिउँदै किनेर बधशालामा तयार गर्न लगाएर घरमा ल्याउन सकिन्छ ।

कति पैसा पर्छ ?

यहाँ यत्ति नै पैसामा खसी पाउनुपर्छ भन्ने छैन । नेपालमा जस्तै यहाँ पनि खसीको मुल्य तोक्न फार्म सञ्चालक स्वतन्त्र छन् तर यस्ता फार्महरु सरकारको कर सुविधा तथा अनुदानमा पनि चल्ने भएको कारण कालोबजारी भने गर्न पाईदैन । एउटा सिमा भित्र रहेर उनीहरुले मुल्य तोकेका हुन्छन् ।

कतै कतै जिउँदै जोखेर र कतिकतै हचुवामा किन्न पाईन्छ । मेरिल्याण्डको माउन्ट एरीमा रहेको एक फार्मले जिउँदो खसीलाई पाउण्डको ३.९५(३ डलर ९५ सेन्ट)मा बेचिरहेको छ । यो नजिकै रहेको पेन्सिलभेनियामा जिउँदै एकमुष्ट पाईन्छ । यो हिसाबले एक मध्यम खसीको ३ सयदेखि ४ सय डलरसम्म पर्न सक्छ । त्यसमा बध गरेको, तयारी गरेको अरु पैसा लाग्न सक्छ । खसीको दरभाउ राज्य अनुसार धेरै थोरै हुनसक्छ ।

जब खसी बजारमा भेटिन्छन् नेपाली

अमेरिकामा बाक्लो नेपाली बस्ती रहेको क्षेत्रहरुका फार्म सञ्चालकहरु पहिलेदेखि नै दशैंको मिति सोधेर तयारी गरेर बस्ने गरेका छन् । यस्ता क्षेत्रमा दशैंको समयमा थामिनसक्नुको नेपालीको भिडले सञ्चालकहरुलाई अनुभवी बनाएको छ ।

गत वर्षजस्तो यो वर्षपनि खसी लिन माउन्ट एरी पुगेका बाग्लुंगका लक्ष्मण न्यौपाने अघिल्लो वर्षहरुभन्दा एक हप्ता अगाडि नै फार्म पुगेका थिए । ‘दुई चार दिनमा यहाँ एउटा पनि खसी बाँकी हुँदैन । गत वर्ष हामीले ३ वटा फार्म चाहारेर बल्ल खसी भेटेको’उनले सुनाउँदै थिए ।

पछिल्लो समय खसीप्रति नेपाली र अरु समुदायका मानिसहरु पनि आकर्षित देखेपछि यो व्यवसाय तर्फ नेपालीहरु पनि आकर्षित भएका छन् । केही समय अगाडिबाट मात्रै अमेरिकाको भर्जिनियामा एक नेपालीले आफ्नै खसी फार्म खोलेका छन् ।

अमेरिकाको कलपेपर भर्जिनियामा गौतम फ्यामिली फार्मको नाममा आफ्नै खसि फार्म संचालन गर्दै आएका संचालक बसन्त गौतम दशैंकै लागि भनेर मौज्दात बढाएको बताउँछन् । उनको फार्ममा पुग्ने ग्राहकहरु पनि नेपाली नै धेरै हुने गरेका छन् ।

अमेरिकी पनि खान्छन् खसी ?

गत वर्ष मेरिल्याण्डको ग्लिन बर्नी बस्ने एक नेपालीले आफ्ना अमेरिकी साथीलाई खसीको मासु खान दशैंमा निम्त्याए । उनलाई त्यो मासुले यति लोभ्यायो कि त्यसपछि सबै साथीलाई चाख्न बोलाए । ‘मेरो घरमा गोराहरुको भिड नै लाग्यो ।

हामीले त्यो साल ३ वटा खसी लिएर आयौं’खसी बजारमै भेटिएका ति नेपाली भन्दै थिए‘हामीले हाम्रो तरिकाले पकाएको मासू खान पाए अमेरिकनहरु लोभिन्छन्’ व्यवहारिक रुपमा नियमित खसीको मासु हिन्दुहरु र मुश्लिम समुदायमा प्रख्यात छ तर विस्तारै अन्य क्षेत्रमा पनि फैलिदै गईरहेको छ ।

बजारमा किन्न पाईन्छ कि पाईदैन ?

अहिले धेरैजसो बजारमै पनि खसीको मासु किन्न पाईन्छ । सुपरमार्केटहरु र नेपाली तथा भारतीयले सञ्चालन गरेको पसलहरुमा खसीको मासु किन्न पाईन्छ ।

मुश्लिमहरुले प्रयोग गर्ने भएकोले पाकिस्तानी पसलहरुमा पनि पाईन्छ तर दशैंको समयमा भने जिउँदै खसी काटेर ल्याउन धेरैले मन पराउने भएकोले फार्म मै धेरै नेपाली पुग्ने गरेका छन् । कम परिवार भएकाहरुले एउटा खसी बाँडेर ल्याउने र धेरै परिवार भए सिंगै ल्याउने गरिएको छ । ‘खसी काटेर घर नलगेसम्म दशैं आएको जस्तै लाग्दैन । न्यौपाने अनुभव सुनाउँछन् ।


क्लिकमान्डु