सर्वसाधारणका लागि श्रीपेच अवलोकन खुला, प्रधानमन्त्री ओलीले गरे सार्वजनिक



काठमाण्डौ । राजसंस्था अन्त्य भएको झण्डै १२ वर्षपछि बल्ल सर्वसाधारणका लागि आजदेखि श्रीपेच अवलोकन खुला भएको छ । राजसंस्थाको प्रतीकका रुपमा रहेको श्रीपेच आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको हो । राजसंस्थाको अन्त्य भएसँगै श्रीपेच नारायणहिटी दरबार संग्रहालयमा सेनाको सुरक्षामा राखिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटक–पटक श्रीपेच सार्वजनिक गर्न पहल गरेपनि हालसम्म सम्भव भएको थिएन । पूर्व राजाहरुले लगाउने श्रीपेचलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

सो श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए ।


क्लिकमान्डु