टीकाको दिन नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने



काठमाडौँ । नेपाली सेनाले दशैंको टीकाको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । सेनाले कार्तिक २ गते बिजया दशमीका दिन उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सेवा दिन लागेको जनाएको छ ।

सेनाले काठमाडौँ उपत्यकाका आठवटा रुटमा सञ्चालन हुने गरी बिहान सात बजेदेखि दिउँसो ३ बजेसम्म बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

५०० सार्वजनिक यातायातलाई कारबाही
यसैबीच, बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो ।

त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

बढी भाडा लिने सवारीलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ ।


क्लिकमान्डु