विभिन्न स्थानमा भएका दुर्घटनामा ६ को मृत्यु, १४ घाइते



काठमाण्डौ । देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ४ को मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । गुल्मी, नवलपरासी, प्युठान, चितवन र काठमाण्डौमा भएका दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगर गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेका ट्रक चालक ढोडेनीका २७ वर्षीय वसन्त भुजेलको सोही अस्पतालमा उपचार भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

प्युठानको नौबहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ एक जनाको घट्नास्थलमै मुत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङकी ६९ वर्षकी तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

बाग्दुलाबाट खबाङका लागि छुटेको अटो दुर्घटना भएको हो । घाइते हुनेमा नौवहिनी–खवाङकै ४६ वर्षकी कालिदेवी पुन र चालककी श्रीमती तथा छोरी रहेको छन् । कालिदेवी पुनलाई जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि बुटवल रिफर गरिएको प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।

यसैबीच चितवनको भरतपुर महानगरपालिका–१० स्थित केन्द्रीय बस टर्मिनलमा गएराति दुईओटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

ना१५प २०८२ नम्बरको मोटरसाइकल र ना५०प ७५२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ना१५प २०८२ नम्बरको मोटरसाइकल चालक भरतपुर–१४ शिवनगरका सन्तबहादुर ताम्राकारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

यता, काठमाडौंको दक्षिणकाली नगरपालिका ९ टल्कुमा गएराति काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा जीपमा सवार कीर्तिपुर चोभार बस्ने ५२ वर्षीया विनादेवी मण्डल रहेकी छिन् । बा१३च ६४४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

यता, पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् । लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली नदीमा खसेको हो ।


क्लिकमान्डु