बडा दशैँको छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदै



काठमाण्डौ । बडा दशैँ अन्तरगत नवरात्रको छैटौँ दिन आज दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।

यसैबीच, हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्राइने फूलपाती लिन धादिङ्को छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको फूलपाती लिएर उनीहरू काठमाडौं आउने छन् । काठमाडौँ गोरखा यातायात सुगम भइसके पनि अझै परम्परागत तौरतरिकाले फूलापाती ल्याइन्छ ।

आज छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोलीमा मगर, नेवार, बाहुन र क्षेत्री समुदायलाई समेटिएको छ । हनुमानढोका दरवारबाट १६ जना र समरजङ् कम्पनीबाट दुइजना खटाइएको कम्पनी प्रमुख प्रकाशचन्द्र पन्तले जानकारी दिए ।


क्लिकमान्डु