यस्ता छन् भरतपुर महानगर पालिकाका महत्वाकांक्षी योजना



काठमाण्डौ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चालु आर्थिक वर्षमा १० किलोमिटर रिङरोड र ६५ किलोमिटर लिंकरोड निर्माणको काम सुरु भएको बताएकी छिन् ।

भरतपुर महानगरपालिका आज आयोजित शुभकामना तथा पत्रकार भेटघाट कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् । महानगर प्रमुख दाहालले ९५ किमी लम्बाइ भएको रिंगरोड र लिंकरोडको काम एकसाथ अघि बढेको बताइन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरपालिकाको वृहद् गुरुयोजना निर्माण गरी एकीकृत विकासको लागि राष्ट्रिय एवम् स्थानीय विषय विज्ञहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया आयोजना गरी महानगरीय गुरुयोजना निर्माणको काम सुरु गरिएको बताइन् ।

केके भए महानगरको देखिने काम ?

भरतपुर अस्पतालमा स्वास्थ्य सेवा लिन आउने महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओपीडी टिकट निःशुल्क गरिएको छ । बजारमा अव्यवस्थित रहेको पार्किङ्गको व्यवस्थापन गर्ने कार्यलाई पुल्चोक, सहिदचोक र लायन्सचोक गरी ३ स्थानबाट सुरु गर्नुका साथै ट्रक पार्किङको लागि न्यूरोडमा पार्किङको व्यवस्था गरिएको छ ।

सडक पेटीमा व्यवसाय गर्ने परिपाटीलाई निरूत्साहित गर्दै बालकुमारी कन्या माविसँग महानगरले भाडामा लिएको जग्गामा व्यवस्थापन गरिएको छ । सडक बत्ती जडान र व्यवस्थापन गरिएको छ ।

एक घर दुई बिरुवा कार्यक्रम चलिरहेको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई सहज पार्न मुख्य राजमार्गमा तीन पांग्रे सवारी साधनको संचालनमा उचित रुटहरुको व्यवस्थापन गरिएको छ । बजार र राजमार्गका मुख्य २० स्थानमा ट्राफिक आइजल्याण्ड निर्माण गरिएको छ ।

महिलासँग मेयर र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, जनजाति, दलित लगायतका जोखिममा परेका समूहसँग मेयर जस्ता कार्यक्रमहरु संचालन गरिएको छ । वडा कार्यालय, टोलविकास संस्था, संघसंस्थाहरु र विभिन्न अभियन्ताहरु समेतको सहभागितामा महानगर क्षेत्रभित्र सरसफाई कार्यलाई अभियानकै रुपमा अघि बढाइएको छ ।

गत आवमा महानगरपालिका, स्थानीय जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे हुनुकासाथै करिब ६० किमी सडक मर्मत भएका छन् ।

२०७५ असार ३१ गते सिंगो महानगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तहको रुपमा घोषणा गरिएको छ । महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रति लिटर २५ पैसाका दरले प्रोत्साहन स्वरुप नगद अनुदानको व्यवस्था गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

केके योजना अगाडि बढे ?
एक वडा एक पार्क र एक वडा र एक पोखरी निर्माणको नीतिलाई अगाडि बढाइएको छ । महानगरभित्र रहेका सार्वजनिक र प्रति जग्गाहरु खोजबिन गरी संरक्षण गर्ने नीति लिइएको छ । करिब एक अर्ब लगानीको अत्याधुनिक सुविधा सम्पन्न सिटी हल निर्माणको लागि जग्गा छनौटको अन्तिम प्रक्रियामा रहेको छ ।

केके छ लक्ष्य ?
महानगरभित्र ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउनको लागि २ ठाउँमा आकाशे पुल र ट्राफिक लाईट व्यवस्था गर्ने महानगरले लक्ष्य बनाएको छ ।

नारायणगढको लायन्स चोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको लागि डिजाइनको प्रक्रियामा रहेको र यसै वर्षबाट काम सुरु गर्ने लक्ष्य लिइएको छ ।

फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन आँपटारी नजिक महानगरपालिकाको स्वामित्वमा रहेको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रम छिट्टै शुरु गर्ने लक्ष्य लिइएको छ र यसको लागि कोरियाली कम्पनीसँग डीपीआर सम्बन्धी सम्झौता भैसकेकोछ ।

भरतपुर वडा नं १९ स्थित रानीपोखरी र वडा नं ६ स्थित लक्ष्मीनारायण पार्कमा पहुँचमार्ग निर्माण तथा केन्द्रीय बस टर्मिनल स्तरोन्नति गर्न टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढिरहेको छ । सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि वडा नं। ३ अन्तर्गत नारायणी नदी किनारमा प्रक्रिया अगाडि बढाइएको छ ।

सुशासन तर्फ केके हुँदैछ काम ?
महानगरपालिकाबाट स्थानीय सरकार संचालनका लागि आवश्यक कानुनहरु निर्माण र प्रमाणीकरण गरी स्थानीय राजपत्रमा प्रकाशनको थालनी गरिसकिएको छ ।
वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन सबै वडा कार्यालयहरुमा विद्युतीय नेटवर्किङ्ग गर्ने काम अगाडि बढिरहेको छ ।

सामाजिक विकासतर्फका काम केके हुँदैछ ?
बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त महानगरको लागि कार्ययोजना बनाई कार्यारम्भ भएको छ । गैरसरकारी संघ संस्थाका परियोजनालाई महानगरको योजना तथा कार्यक्रमसँग टाइअप गर्न निर्देशिका बनाई कार्यको थालनी भएको छ ।

भरतपुरलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरेअनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिएको छ ।

भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको छ । महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको नियमन र अनुगमनको काम प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।

आर्थिक विकासतर्फका काम केके भए ?
कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रमहरु संचालन गरिएको छ । तरकारी, फलफूल, माछातथा खाद्यान्न उत्पादनमा संलग्न किसानलाई कृषि औजार, सिँचाइ लगायतमा अनुदानको व्यवस्था गरिएको छ । महानगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ती ठाँउहरुमा पूर्वाधार निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको छ ।

राजस्वको वर्तमान अवस्था तथा भावी कार्यदिशा
भरतपुर महानगरले गत वर्षको संकलित राजस्व रकम ४९ करोड ११ लाख संकलन गरेको थियो । आन्तरिक आय ३० करोड थियो । यस वर्षको राजश्व संकलनको लक्ष्य ५५ करोड महानगरले लिएको छ ।

यस आर्थिक वर्षको असोज २६ गतेसम्म जम्मा राजस्व आठ करोड बाउन्न लाख त्रियानब्बे हजार तिरासी उठेको छ । साथै केही वडाहरुको चलानी आउन बाँकी नै रहेको महानगरले जनाएको छ । राजस्वमध्ये सम्पत्ति कर, व्यवसाय करर सेवा शुल्क तथा घर बहाल कर प्रमुख रुपमा रहेका छन् ।


क्लिकमान्डु