बडादशैँको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै



काठमाण्डौ । बडादशैँ अन्तरगत नवरात्रको पाँचौं दिन आज भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।

गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् ।

यो समयमा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ । काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ ।

यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सुर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन् । पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ ।

तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपा भगवतीको आराधनाको विशेष महत्व रहेको बताइएको छ ।


क्लिकमान्डु