पराराष्ट्र मन्त्री ज्ञवानी भन्छन्–अन्तराष्ट्रियस्तरमा नेपालको सम्बन्ध बढिरहेको छ
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तराष्ट्रियस्तरमा नेपालको सम्बन्ध बढिरहेको बताएका छन् ।
प्रदेश नं ५ पत्रकार समाज, काठमाडौँले आज आयोजना गरेको दशैं, तिहार, छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले भर्खरै अमेरिकामा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घको महासभामा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे चासो राख्दा नेपालको सम्बन्ध बढेको बताए ।
‘‘सयुक्त राष्ट्र सङ्घको महासभामा पनि सहभागी विदेशी राष्ट्र प्रमुख र कुटनीतिज्ञले आफै हामीसँग समय मागेर भेटघाट गर्नुभयो,‘‘ उनले भने–‘‘जसले गर्दा नेपालको सम्बन्ध अन्तर्राष्ट्रियस्तरमा बढिरहेको छ ।’’
उनले चीन र भारतसँगको सम्बन्धलाई सरकारले थप राम्रो बनाएको भन्दै मित्रराष्ट्रसँग वर्षौदेखिको थाँती रहेका मुद्दापनि सल्टाउन थालेको जानकारी गराए ।
परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग उत्तर–दक्षिण रेलमार्ग र भारतसँग कृषि, जल क्षेत्रमा सहकार्य गरेर मुलुकलाई विकाससँग जोड्न थालेको बताए । उनले सन् २०३० सम्म मुलुकको आर्थिक विकासमा समृद्धि ल्याई मध्यआय भएको देश बनाउन सरकार दृढरहेको बताए ।
सरकारले ८ महिना संविधान कार्यन्वयनमा खर्चेको भन्दै अब भ्रष्टाचारको नियन्त्रण गदै सुशासनको प्रत्याभूति हुने किसिमले काम गर्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय समाचारको विश्वसनियता माथि प्रश्न उठिरहेको भन्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण नभई मर्यादित बनाउनका लागि नयाँ कानून ल्याइएको स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले बर्तमान सरकारले अपराधीको संरक्षण गरिरहेको छ भन्ने आरोपको खण्डन गर्दै जुनसुकै घटनाका अपराधीलाई कानूनी कठघरमा उभ्याइने बताए । हालैमात्र सरकाले पत्रकारहरुको तलब २५ प्रतिशत बृद्धी गरेको प्रशंग उल्लेख गर्दै उनले भने–मिडिया चकाचक चलुन् र पत्रकारहरुले समय मै तलब पाउन् ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीबी र बेरोजगार अन्त्य नगरेसम्म मुलुक समृद्धिमा नजाने बताए ।
उनले नेपालमा भएका प्राकृतिक स्रोत र युवा जनशक्तिलाई परिचालन गरेर गरीबी र बेरोजगार अन्त्य गर्न सकिने उल्लेख गरे ।
समाजका संयोजक सङ्गम महतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ पत्रकार भुवन भट्ट लगायतको सहभागिता रहेको थियो ।