नौबीसे-नागढुंगा सडकमा ठूला मालवाहक गाडी प्रवेशमा रोक
काठमाण्डौ । दसैँको बेला हुन सक्ने सडक जाम र सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ ।
एक हप्तासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको प्रहरीले जनाएको छ । दसैँ मनाउन काठमाडौंबाट बाहिरिने गाडीको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो ।
यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरीपनि परिचालन गरिएको छ । क्षमताभन्दा बढी भार बोकेका गाडी उकालोमा बिग्रेर जाम हुने गरेको छ ।
दैनिक १ लाखले उपत्यका छाड्दै
यता, दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाख जनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । हिजोदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताय ।
दसैँको बेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।
दसैँका लागि गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ ।