बडादशैंको दोश्रो दिन ब्रह्मचारिणीको आराधना गरिँदै



काठमाण्डौ । बडादसैँको दोस्रो दिन आज भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ ।

तपस्यामा लीन हुने भएकाले दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ ।

आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ ।

काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती, ललितपुरको बंगलामुखी, काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।


क्लिकमान्डु