बन्द रहेका कपास, धागो र कपडा उद्योग सञ्चालन गर्न कृषि मन्त्रालयले पहल थाल्यो



काठमाडौं । बन्द अवस्थामा रहेका कपडा, कपास र धागो उद्योग सञ्चालनका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले पहल थालेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले भने– बन्द उद्योग सञ्चालन गर्ने बारेमा उद्योग मन्त्रायसँग पहल शुरु गरेका छु ।

मन्त्री खनालले कृषि मन्त्रालयले उद्योग मन्त्रालयसँग मिलेर उद्योग सञ्चालनका निम्ती एउटा छुट्टै टिम बनाइसकेको उद्घोष पनि गरे । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटांैडाको कपडा उद्योग, बाँकेको कपास उद्योग र बुटवलको धागो उद्योग सञ्चालनमा ल्याउन पहल भइरहेको छ–मन्त्री खनालले भने ।

नेपालमा बनेका कपडा केही महङ्गो पर्ने भएपनि सुरुमा ३ वटा सुरक्षा फोर्स र सरकारी कर्मचारीहरुलाई अनिवार्य गरी उद्योग सञ्चालन ल्याउने योजनामा छौँ,’ मन्त्री खनालले भने ।

बन्द उद्योग खुलाउनका लागि टोली गठन भइसकेको र उक्त टोली अनुगमनका लागि २\३ दिनमा प्रस्थान गर्ने योजना रहेकोपनि बताए । मन्त्री खनालले बाँकेको कपास उद्योगलाई राष्ट्रिय कपास समितिको रुपमा सञ्चालनमा ल्याउन उद्योग वाणिज्य मन्त्री मात्रीकाप्रसाद यादवसँग छलफल भएको बताए ।

बन्द रहेका कपास, धागो र कपडा उद्योग मर्मत गरेर सञ्चालनमा ल्याउन सके त्यसबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुन सक्ने उनले बताए । यस्तै, टोलीले बिरगञ्जको कृषि औजार कारखानाको पनि अवलोकन गरेर आउने उनले बताए । उक्त औजार कारखाना सञ्चालनमा ल्याउन सके कृषिमा टेवा पुग्ने उनको भनाई छ ।

कालिमाटीका खारेज स्टल अब के गर्ने ?
यस्तै मन्त्री खनालले कालिमाटी फलफूल तथा तरकारी बजरमा ५७ वटा खारेज भएका स्टलहरु मध्ये २५ जनाले खारेज नगर्नु भन्ने अदालतको आदेश लिएको जानकारी गराए ।

कालिमाटीको बिचौलिया अन्त्य गर्न गरिएको स्टल खारेजपछि २५ वटाले अदालत मार्फत स्टे अर्डर लिईसकेको बताउँदै मन्त्री खनालल अब के गर्ने भन्नेमा मन्त्रालय सोचमा परेको बताए ।


क्लिकमान्डु