दशैं लाग्योः आफ्नै गाउँ फर्की आएँ (फोटो फिचर)



भैरहवा । कामको सिलसिलामा विदेशिएकाहरु दशैं मान्न देश फर्किन थालेका छन् । स्थलमार्ग हुँदै नेपालमा भित्रिने मुलुककै ठुलो रुपन्देहीको बेलहिया नाका हुँदै भारतमा कार्यरत हजारौँ मुग्लानीहरु धमाधम देश फर्किन थालेका हुन् ।

भारतको हरियाण स्थित एक होटलमा कार्यरत पर्वतका ४१ वर्षीय कृष्णबहादुर पाण्डेले परिवारका साथ दशैं मनाउनका लागि आफू कामबाट विदा लिएर घर फर्किएको बताए ।

‘परिवारको साथमा दशै मनाउन नपाएको २ वर्ष भइसकेको थियो, यसपालीको दशै घरपरिवारसँगै मनाउनका लागि घर फर्किएको हुँ,’ बेलहिया बसपार्कमा आफ्नो गाउँ जाने गाडी खोजिरहेका उनले भने ।

त्यस्तै भारतको महाराष्ट्रमा भारतीय सेनामा कार्यरत गुल्मीका ३७ वर्षीय राजन थापा पनि दशैं मनाउनका लागि घर फर्किएको बताए । भारतको सुनौलीमा भेटिएका उनी भन्छन्– ‘जहिले भन्यो त्यती बेला आउन पाइँदैन तर परिवारसँगै दशै मनाउनका लागि भनेर दशैको लागि २० दिनको विदा लिएर घर फर्किदैछु ।’

यस्तै बेलहियाको भन्सार चेक पोष्टमा आफ्नो झोला चेकजाँच गराउँदै गरेका स्याङ्जाका ३९ वर्षीय प्रेम बरालले आफु भारतमा सुरक्षा गार्ड काम गर्ने गरेपनि प्रत्येक वर्ष दशैं मनाउनका लागि घर फर्किएको बताए ।

भारतीय बजारमा नेपालीको घुइँचो

जतिजति दशैं नजिकिँदै गएको छ त्यति नै सीमानाको भारतीय बजार सुनौलीमा नेपालीहरुको घुइँचो लागेको छ । दाल, चिनी, चामल, कपडा, साबुनलगायतका सम्रागीहरु खरिद गर्नका लागि दैनिक हजारौँ नेपालीहरुको सुनौली बजारमा ताँती लागेको छ ।

भारतमा सस्तो मूल्यमा साम्रगीहरु पाउने गरेको मनोविज्ञानका कारण चितवन, अर्घाखाँची, पाल्पा, नवलपरासी लगायतका जिल्लाहरुबाट नेपालीहरु भारतीय बजार सुनौलीमा आउने गरेका छन् ।

सुनौलीबाट बजार गरेर फर्किदै गरेकी बुटवल उपमहानगरपालिका शितलनगरका गीता ढकालले सुनौलीमा उपभोक्ता ठग्ने कार्य भइरहेको बताइन् । दशैँको लागि पहिलो पटक सुनौली बजार गर्न आएको बताउने उनले सुनौलीमा व्यापारीहरुले चिनी सस्तो मूल्यमा दिएर अन्य साम्रगीमा ठग्ने गरेको सुनाइन् ।

दशैँको लागि पहिलो पटक सुनौली बजार गर्न आएको हु उनले भनिन् यहाँ त चिनी मात्र सास्तो रहेछ अरु साम्रगी त नेपाल भन्दा महंगो छ, अब सुनौली बजार गर्न कहिल्यै आउँदैन ।

नाकामा कडाई

दशै नजिकएसँगै सीमानाबाट बढेको तस्करी नियन्त्रणका लागि सीमानामा तैनाथ जनपद र सस्शत्र प्रहरीले नाकामा कडाई गरेको छ । चोरी, तस्करी, पैठारीलाई मध्येनजर गर्दै जनपद र सस्शत्र प्रहरीले भारतबाट आउने समाग्रीहरुको कडा निगरानीका साथ समान चेकजाँचमा कडाइ गरेको छ ।

केही समय यता जनपद र सस्शत्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा, खाद्यन्न लगायतका लाखौँ रुपैयाँको विभिन्न साम्रगी बरामद गरेर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

सीमा नाकामा हेल्प डेस्क

भारतबाट फर्किरहेका नेपालीहरुको साहयताको लागि रुपन्देही प्रहरीले बेलहिया नाकामा हेल्प डेस्कको स्थापना गरेको छ । विगतमा धेरै यात्रुहरु अलपत्र पर्ने गरेको, लुटिने, दुव्र्यहार हुने गरेको घटनालाई मध्येनजर गर्दै प्रहरीले हेल्प डेस्कको स्थापना गरेको हो ।

भारतबाट फर्किएका नेपालीहरु यातायात, होटल, खाना लगायतका समन्धमा जानकारीहरु लिइरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवं प्रहरी निरीक्षक बिरबहादुर थापाले जानकारी दिए ।

 


क्लिकमान्डु