मकवानपुरको मनहरीमा यसरी गरियो नमूना गाउँ सभा
हेटौंडा । मकवानपुर जिल्लाको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायमा सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा नमूना गाउँ सभा सम्पन्न भएको छ ।
हिमालयन हयुमनराइट्स मनिटर्स(हिमराइट्स) को आयोजना, मनहरी गाउंपालिकासंगको सहकार्य र क्यानडा फण्डको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
असोज १६ देखि २२ गतेसम्म सम्पन्न कार्यक्रममा मनहरी गाउँपालिका अन्तर्गत सबै वडाका गरी ४८ जना सिमान्तकृत, दलित, जनजाति र अन्य समुदायका युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा २ दिन २० जना र दोस्रो चरणमा २ दिन २८ जना गरी ४८ जना युवाहरुलाई मानवअधिकार र स्थानीय सुशासन सम्बन्धि तालिम प्रदान गरिएको थियो । तेस्रो चरणमा ३ दिन गाउँपालिकाका निर्वाचनको माध्यमबाट पदाधिकारी चयनको अभ्यास गराइएकोे थियो ।
निर्वाचन प्रक्रियापछि गाउँसभामा योजनाको प्रक्रियाको बारेमा छलफल गरी नमुना कार्यपालिकाको बैठक, वडा भेला, योजना छनौट र प्राथमिकिकरण, योजना तथा बजेट तर्जुमा समितिको बैठक र निर्णय समेत गरी गाँउ सभाबाट पारित गर्ने नमूना अभ्यास गरिएको थियो ।
मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकाका योजना तथा भावी रणनीतिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा हिमराइट्सका अध्यक्ष अञ्जना शाक्य र प्रकाश उपाध्यायले सहजीकरण गरेका थिए ।