जग्गा किनबेचका लागि सजिलो माध्यम ‘सरलिकृत फारम’, भूमिमन्त्री अर्यालले गरिन् उद्घाटन




काठमाडौं । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयहरुमा ‘सरलीकृत फारम’ को व्यवस्था ल्याएको छ । मन्त्रालयले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन यस्तो व्यवस्था ल्याएको हो ।

प्रायः मालपोत कार्यलयहरुमा फारम भर्ने बेला अरुको सहयोग लिनु पर्ने र फारम भर्न सेवाग्राहीहरुलाई हम्मे पर्ने भएपछि सरकारले यस्तो व्यवस्था ल्याएको भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रीका निजी सचिव टेकप्रसाद लुइटेलले जानकारी दिए ।

‘पहिले मालपोत जाँदा हरेक कुराको फारम भर्न सहयोगी चाहिन्थ्यो, अब थोरै लेखपढ गरेकाले पनि आफै भर्न सक्ने गरी सरलीकृत फारम तयार पारेका छौँ,’ लुइटेलले भने ।

आज भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ललितपुर भूमि सुधार तथा मालपोत कार्यालयमा सरलिकृत फारमको उद्घाटन गरेकी हुन् ।

यसअघि मालपोत कार्यालयहरुमा यस्तो फारम भर्न लेखापढी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहने गरेको भूमि सुधार तथा व्यवस्था विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यले बताए ।

‘पहिले ठूलो कागज हुने गथ्र्याे, त्यसको तल, माथि, दायाँ, बायाँ सबै तिर औँठा छाप लगाउनु पर्ने साक्षि सबै चाहिने, एउटैले भर्न सम्भव नै थिएन, त्यसले गर्दा अरुको सहयोग लिनु पर्थ्यो, अब त्यस्तो झनझट हुने छैन,’ महानिर्देशक आचार्यले भने ।

अबका दिनमा जग्गा किनबेच गर्नेले सरलिकृत फारममा नाम, ठेगाना र तीन पुस्ताको नाम लेखे पुग्ने बाँकी सबै मालापोत कार्यालयले नै भरिदिने व्यवस्था रहेको उनले बताए ।

बैंकमा सहजै चेकबाट पैसा निकाले जस्तै मालपोत कार्यालयमा हुने काम काजलाई सहज बनाउन मालपोत कार्यालयहरुमा सरलीकृत फारमको व्यवस्था ल्याइएको आचार्यले बताए ।

यो फारमको बारेमा अनलाईन तथा भूमि सुसासन मोबाइल एप मार्फतपनि हेर्न सकिने उनले जानकारी दिए ।

कुन कुन मालपोत कार्यालयमा पाइन्छ सरलिकृत फारम ?
डिजिटलाइज सिस्टम जडान गरिएका मध्ये ३४ वटा मालपोत कार्यालयहरुमा सरलिकृत फारम सञ्चालनमा आउन लागेको उनले बताए ।

हाल डिल्लीबजार, चाबहिल, कलंकी, मनमैजु, टोखा, साँखु, भक्तपुर, ललितपुर, गोटीखेल, धादिङ, चितवन, भरतपुर, खैरेनी, चनौली, माडी, मकवानपुर हेटौडा, शिखरकोट, झापा भद्रपुर, पाँचथर, धरान, नुवाकोट, स्याङ्जा, दोलखा, सिन्धुपाल्चोक, विराटनगर, पर्सा, काभ्रे, बाग्लुङ, बाँके, पोखरा लेखनाथ, कास्की, परवत, मोरङ रंगेली र गोर्खा गरी ३४ वटा भुमि सुधार तथा मालपोत कार्यलयमा डिजिटलाइज व्यवस्था गरिएको छ ।

अर्को वर्षको दशैँ भित्र नेपाल भरका भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलिकृत फारमको व्यवस्था गरिने विभागका महानिर्देशक आचार्यले जानकारी दिए ।


क्लिकमान्डु