नेपालसँग भूटान १ सय १७ रनले पराजीत, बुधबार चीनसँग खेल हुने
काठमाडौं । आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन जोड्दै अलआउट भएको थियो । ललितनारायण राजवंशीले इनिङसको दोस्रो र तेस्रो बलमा विकेट लिंदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । विकेट मेडनबाट सुरु भएको नेपालको बलिङलाई सन्दीपले निरन्तरता दिए । उनले चौथो ओभरमा दुई विकेट लिए ।
सन्दीप र ललितले सुरुवाती ८ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट हात पारेका थिए । सन्दीपले ४ ओभरमा २ मेडनसहित ६ रन दिंदै ३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट नै हात पारे ।
भुटानको इनिङसमा सर्वाधिक स्कोर बनाएका तेन्जिङ वाङचुक जुनियरले ११ रन जोड्नेक्रममा २ चौका प्रहार गरे । नेपालका लागि वसन्त रेग्मीले २ तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले १–१ विकेट हात पारे । भुटानका ४ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । यो टि-२० क्रिकेटमा नेपालको लागि सर्वाधिक स्कोर पनि हो । यसअघि यो रेकर्ड कप्तान पारस खड्काको नाममा थियो ।
इनिङसको तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको खराब सुरुआत गरेको थियो । प्रदिप र अनिल साहले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।
मध्यक्रममा आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिए । दिपेन्द्र १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए । करण केसीले ५ बलको सामना गर्दै १ छक्कसहित नटआउट ११ रन प्रहार गरे । भुटानका लागि संजिवन, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले १–१ विकेट हात पारे ।
यस जितसँगै नेपाल लगातार ४ खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले बुधबार हुने खेलमा चीन र शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।