काठमाण्डौमा बस्दै आएकाको पीडाः दशैंमा घर त जानु पर्ने, टिकट पाइएन, पाउँदा पनि महङ्गो भो !




काठमाडौं । दुई बच्चाका साथ किनमेलका लागि रत्नपार्क आएकी सरस्वती भुजेल दोलखाबासी हुन् । बाँनियाटार बस्दै आएकी सरस्वतीको दशैँमा घर जाने योजना छ । गाडीमा आवतजावत गर्दा बच्चा बोकेर हिड्दा पीडा हुने अनुभव छ उनीसँग ।

अर्कोतर्फ केही दिनयता गाडी भाडा बढेपछि चिन्तामा छिन् उनी । यसअघिसम्म दोलखा जाँदा ५ सय २० रुपैयाँ तिर्ने गरेकी उनले यो पटक भने ६ सय रुपैयाँ तिर्नु पर्ने बताइन् ।

‘पैला ५ सय २० रुपैयाँ तिर्थे, अहिले ६ सय रुपैयाँ तिर्नुपर्ने भयो, सधै यस्तै हो दशैँमा, भाडा बढिहाल्छ, जसरी भए नि जानै पर्ने भएपछि तिर्नै पर्यो नि,’ सरस्वतीले गुनासो सुनाउँदै क्लिकमाण्डूसँग भनिन् ।

रत्नपार्क मै बुटवलका सम्योग ढुङ्गाना पनि भेटिए । उनी भने उपत्यकामा गाडी चढ्दा गाडीमा भाडाको समस्या नभएको बताउँछन् ।

‘गाउँ जाँदा कति लाग्छ थाहा छैन, तर अहिलेसम्म कार्ड देखाएर १० रुपैयाँ नै तिरेको छु,’ सम्योगले क्लिकमाण्डुसँग भने ।

सप्तरी घर भएका रमेश सुतिहार उपत्यकामा सिकर्मी काम गर्ने गर्छन् । उनले यो दशैँको अग्रिम टिकट काटिसकेका छन् । भक्तपुर बस्दै आएका रमेशले यो दशँैमा टिकटको १२ सय रुपैयाँ तिर्नु परेको छ । उनी अन्य समयमा आफूले १ हजार रुपैयाँ मात्र तिर्ने गरेको बताउँछन् ।

‘पहिलो १ हजार रुपैयाँ तिरेर जाने गर्थे, दशैँले गर्दा १२ सय रुपैयाँ तिर्नु परेको छ, चाँडै टिकट नकाटे गाडी नपाउने डर, टिकट त काट्नै पर्यो,’ रमेशले भने ।

यस्तै, चितवन घर भएकी सबिता गुरुङ किर्तिपुर बस्ने गर्छिन् । उनले यो पटक दशैँमा घर जाने टिकट नकाटेको भएपनि टिकटको मूल्य बढेको कुरा भने आफन्तहरुबाट सुनेकी रहिछन् ।

स्नातक पढ्दै गरेकी सबिताले सामान्यतया चितवन जाँदा ५ सय रुपैयाँ तिर्ने गरेको बताइन् । उनी यो पटक दशँैमा जाँदा कति तिर्नु पर्ने हो अझै अन्योलमा नै छिन् । यसको कारण हो गाडी भाडा बढ्नु ।

‘सधै जाँदा ५ सय तिर्ने गरेको थिएँ, दशैँमा कति तिर्नु पर्छ थाहा छैन, टिकट नै काटेको छैन,’ सबिताले भनिन् ।


क्लिकमान्डु