गाईपालनबाट पचास हजार आम्दानी, भट्टराई दम्पत्ति भन्छन्- स्वदेश मै गर्न सकिन्छ राम्रो कमाई



पाल्पा । रामपुर नगरपालिका-७, मलेङ्गका नारायणप्रसाद भट्टराईले एक लाख ऋण लिई शुरु गरेको गाईपालनबाट अहिले मासिक ४० देखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् ।

अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् (युएइ) तथा एक वर्ष कतारमा काम गरेका भट्टराई गाईपालनको कमाइले सन्तुष्ट छन् ।

पाँच वर्ष अघि अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट उहाँले एक लाख ऋण लिएका हुन् । उनले एउटा उन्नत जातको गाई खरिद गरी गाईपालनमा हात हालेका हुन् ।

“तीन वर्षमा पूरै सावा ब्याज फिर्ता गरेँ,” उनले भने । भट्टराईले १८ हजारमा गाई खरिद गरी गाईपालन थाल्नु भएको हो । दूध बेचेको कमाइले फार्म निर्माण गरेका हुन् ।

दूध बिक्रीको कमाइबाट उनले छोराछोरी पढाउँदै आएका छन् । भट्टराईले प्रविणता प्रमाणपत्र तह तथा उनका श्रीमती यमुना न्यौपानेले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । “विदेशमा भन्दा स्वदेशमै बसेर काम गर्दा मनग्य आम्दानी गर्न सकिन्छ,” यमुनाले भनिन् ।

भट्टराई दम्पतीलाई सधैँ दूध ढुवानीको समस्या हुन्छ । “ किसान आफैले डेरीसम्म दूध ढुवानी गर्नुपर्ने बाध्यता छ । दूधको उचित मूल्य पाउन समस्या छ,” उनले भने । घाँस, दाना, पानी र औषधि उपचारमा सधैँ समस्या हुने गरेको छ ।


क्लिकमान्डु