को-को भए स्ट्रिट बाइक च्याम्पियन ?



काठमाडौं । स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्की र १५० सीसीतर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् ।

सो च्याम्पियनसिपमा २०० सीसीतर्फ आशुतोष धन्जु फस्र्ट रनर अप र सुजन थापा सेकेन्ड रनर अप भए भने १५० सीसी तर्फ आशिक लामा फस्र्ट रनर अप र पविन कार्की सेकेन्ड रनर अप भए ।

गत शनिबार सम्पन्न २०० सीसी क्याटागोरीमा बेस्ट राइडर रवि साह, मिस्टर प्रोपर सेफ्टी गियर्स गौराङ्ग प्रताप सिंह र मिस्टर पब्लिक च्वाइस राजकुमार कार्की भएका छन् ।

त्यसैगरी १५० सीसी क्याटागोरीमा बेस्ट राइडर च्यान्जी राजा जोशी, मिस्टर प्रोपर सेफ्टी गियर्स रितेश श्रेष्ठ र मिस्टर पब्लिक च्वाइस निसान न्यौपाने भएका छन् ।

मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का साथै नेपाल मोटरसाइकल फेडरेसन(एनएमएफ) को समेत समर्थन रहेको थियो ।

गुर्जधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा च्याम्पियनसिप हुने भएको थियो । सो रेसिङ प्रतियोगितामा १५० र २०० सीसीका स्ट्रिट बाइक कुदाइएको थियो । ६ सय मिटरको ट्रयाकमा फाइनल प्रतियोगिता ५ ल्यापमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको २०० सीसी क्याटागोरीमा ४७ जना र १५० सीसी क्याटागोरीमा ४८ जना राइडरको सहभागिता थियो ।

च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतीय हुने राइडरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।च्याम्पियनसिप विजेता मध्ये एक जना आगामी दिनमा हुने एसिया रोड रेसिङ च्याम्पियनसिपमा सहभागी हुने छन् ।

टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगिताका सहभागी खेलाडीहरुलाई टीभीएसका कुनैपनि बाइक खरिद गर्दा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधा समेत उपलब्ध गराउने मोटर स्पोर्टस नेपालका अध्यक्ष बिनोद तण्डुकारले बताए ।


क्लिकमान्डु