नेकपा सचिवालय बैठक आज, बैठक बालुवाटारमा बस्ने



काठमाण्डौ । पार्टी नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेका बेला नेकपा सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केकै भोलिपल्ट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गरेर सचिवालय बैठकको मिति निर्धारण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलले सचिवालय बैठकको मिति तय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

अध्यक्ष दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू विदेशमा रहेका बेला सरकार र पार्टी नेतृत्वप्रति नेता नेपालले असन्तुष्टि जनाएको भन्दै चित्त दुःखाएको स्रोतले बताएको छ ।

यता, वरिष्ठ नेता नेपाल अफ्रिकी मुलुक घाना गएका बेला असोज ५ मा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो ।

आफू विदेशमा रहेका बेला पदाधिकारी नतोक्ने र सो निर्णय स्थायी समिति बैठकबाट मात्र गराउने बचन अध्यक्ष ओलीले दिएपनि त्यसको पालना नगरेको भन्दैै वरिष्ठ नेता नेपालले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।


क्लिकमान्डु