अख्तियारबाट सरुवा भएका डीएसपी घुससहित रंगेहात समातिए
काठमाडौं । कुनै समय भ्रष्टाचारी समात्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कमाण्ड सम्हाल्दै हिँड्ने डीएसपी श्यामकुमार राई अख्तियारकै फन्दामा परेका छन् । बौद्ध क्षेत्रमा हुने बालुवा तस्करीलाई बैद्यता दिन राईले व्यवसायीसँग राम्रै डिल गरेका थिए ।
सो डिलका बारेमा प्रहरी प्रधान कार्यालयलाई पनि राम्रै जानकारी थियो । तर, पहिलै सूचना पाउने राईको विषेश क्षमताका कारण उनी उम्कँदै आएका थिए । शनिबार मध्यान्न अख्तियारको सम्पर्कमा स्थानीय एक व्यापारी आए । उनले आफूलाई डीएसपी राईले घुस मागेको र दिन जान लागेको समेत आयोगलाई सूचना दिए ।
आयोगमै बसेर भ्रष्टाचारी समात्दै हिँड्ने डीएसपी राईको विषयमा परेको यो तेस्रो उजुरी थियो । पहिलेपहिले त्यस्तै उजुरीका आधारमा रंगेहात पक्राउ गर्ने भन्दै परिचालित हुने अख्तियारको टोली शनिबार पनि राई पक्राउ पर्नेमा दुविधामा नै थियो ।
विगतमा निशाना चुके पनि शनिबार भने राईलाई पक्राउ गर्न आयोग सफल भयो । विगतमा स्टिङ अपरेशन चलाउँदै राई अख्तियारका एसपी प्रविण पोखरेलको नेतृत्वको टोली महानगरीय प्रहरी वृत्त बौद्ध पुग्दा जिल खाए ।
किनकि बालुवा व्यापारीसँगै अख्तियारका सुराकी पनि गएका थिए । बालुवा ओसारपसारका लागि सहज बनाइदिनु पर्यो भन्दै एक व्यवसायीले १ लाख ४० हजार रुपैयाँ डीएसपी राईलाई हातमा हालिदिने वित्तिकै एसपी पोखरेल जय नेपाल डीएसपी साप भन्दै उनको कार्यकक्षमा प्रवेश गरेका थिए ।
विगतमा आफूसँगै स्टिङ अपरेशनमा हिँड्ने एसपी पोखरेललाई देखेपछि राईले व्यापारीसँग लिएको पैसा समेत घर्रामा हाल्न भ्याएका थिएनन् । अपरेशनमा सहभागी अख्तियारका एक कर्मचारीका अनुसार डीएसपी राई आफूले सापटी लिएको भन्दै उम्कन खोजेका थिए ।
तर, बालुवा ब्यापारीसँगै रहेका अख्तियारका कर्मचारीले आफ्नो परिचय दिएपछि डीएसपी राई सापटी लिएको होइन भन्न थाले । बौद्ध क्षेत्रमा हुने अबैद्य जवा खालदेखि बालुवा तस्करीको संरक्षणमा डीएसी राई संलग्न भएको पटकपटक उजुरी परे पनि उच्च राजनैतिक नेतृत्वसँग सेटिङ मिलाएर उनी उम्कँदै आएका थिए । तर, शनिबार साँझा ८ बजे भने उनी आफ्नै सहकर्मीबाटै पक्राउ परे । पछिल्ला दिनमा प्रहरी नै बालुवा तस्करीमा संलग्न भएको पाइएपछि अख्तियारले स्टिङ अपरेशन सञ्चालन गरिरहेको छ ।
केहीदिन पहिले कोटेश्वरबाट ४ प्रहरी पक्राउ परेका थिए । शनिबार डीएसपी नै पक्राउ परेपपछि प्रहरी नै बालुवा तस्करीमा संलग्न भएको भन्ने आरोप सत्य सावित भएको छ ।
मुलपानीमा जुवाखाल सञ्चालन गर्न दिन समेत डीएसपी राईले नै वातावरण बनाएको र हप्ता असूली गर्दै आएको प्रहरीको दाबी छ । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्ध प्रहरीलाई जानकारी नै नदिई मुलपानीको जुवा खालमा छापा हानेको थियो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले प्रहरी नै घुस लिन्छन् भन्ने अख्तियारमा पर्ने उजुरी पछिल्ला दुई घटनाले पुष्टि गरेको बताए ।