सार्वजनिक सवारीलाई असोज २४ देखि ३१ गतेसम्म रुट परमिट खुला



काठमाडौँ । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताए ।

“दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुन्छ”, उनले भने ।

विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको हो ।


क्लिकमान्डु