यातायात ब्यवसायी समितिका बैंक खाता खोल्न उपप्रधानमन्त्री जमानी बसिदिने



फाइल तस्बीर

काठमाडौं । यातायात ब्यवसायीले समिति गठन गरी सार्बजनिक यातायातमा सिण्डिकेट कायम गरे भन्दै सरकारले नै कारवाही गरिरहेको समयमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सो सरकारी कार्यशैलीकै विरोध गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको छैठौं अधिवेशन तथा बाह्रौं बार्षिक साधारणसभामा बोल्दै मन्त्री पोखरेलले ब्यवसायीको समितिका बैंक खाता रोक्का गर्नु अनुचित कार्य भएको पनि बताए ।

‘सरकारले व्यवसायीको खाता रोक्नु अनुचित हो, मलाई तत्काल लिखित रुपमा दिनुस्, समाधान गर्ने जिम्मा मेरो हो, व्यवसायीको समस्या समाधानमा म जमानी बस्छु,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

अब सरकारले गोश्वारा ढंगले नभई फाष्ट ट्रयाकबाट गुनासो सुनुवाई गर्ने उनको भनाइ छ ।

यातायात व्यवसायीका माग तत्काल समाधानका लागि मध्यस्थता गर्न आफू तयार रहेको पनि उनले बताए ।

मन्त्री पोखरेलले दशैं नजिकिदै गर्दा अझै टिकटको सुनिश्चितता हुन नसक्नुका पछाडि महिनौंदेखिको यातायात व्यवसायी र सरकारबीच बढेको असमझदारी मुख्य कारक रहेको भन्दै यसलाई तोड्न आफूले सहजीकरण गर्ने बताएका हुन् ।

‘हिजोका नीति, संरचना तोड्दै अब नयाँ ढंगले सोचौं र गलत गर्नेलाई मिलेर दण्डित गरी राम्रो गर्नेलाई पुरस्कृत गरौं,’ उनले भने ।

‘सरकारले व्यवसायीको खाता रोक्नु अनुचित हो, मलाई तत्काल लिखित रुपमा दिनुस्, समाधान गर्ने जिम्मा मेरो हो, व्यवसायीको समस्या समाधानमा म जमानी बस्छु,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले पछिल्लो समय सरकारले गरेको व्यवहारले स्वदेशी खर्बाैंको लगानी रहेको यातायात क्षेत्र यतिबेला निराश बनेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले दशैं आउन लागिसक्दा समेत विगत केही महिनादेखि कर्मचारीले तलब खान नपाएको भन्दै सरकारले खाता रोक्का राखेर गर्न खोजेको के हो भन्ने बुझ्न नसकेको बताए ।

‘मजदुरहरुले देशव्यापी रुपमा चावी सवारीधनीलाई र लाईसेन्स प्रहरीलाई बुझाउन थालिसकेका छन्, तरपनि हामीहरु अझै धैर्यताको बाँध टुट्न नदिई थामथुम गरिरहेका छौं, सरकारले चाँडो सम्बोधन गरोस्,’ अध्यक्ष कर्माचार्यले भने ।

सरकारले यातायात क्षेत्रमा सिण्डिकेट कायम रहेको भन्दै यसको खारेजीका लागि यातायात सञ्चालन निर्देशिका जारी गरेपछि ६ महिनादेखि व्यवसायी आन्दोलित छन् । यसबीचमा सरकारले समस्या समाधानका लागि कार्यदल गठन गरेपनि कार्यदलका सुझावप्रति सरकारले चासो नदिएको व्यवसायीको आरोप छ ।

कार्यक्रममा पूर्व भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायर, पूर्व राज्यमन्त्री सिता गुरुङ लगायतले सरकारले व्यवसायीलाई अपराधी जस्तो व्यवहार गरेको भन्दै तत्काल समस्या समाधानको पहल गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिवले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन, बीमा, ढुवानी व्यवस्थापन, भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भएपनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको जारी साधारणसभाले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन समेत गर्ने महासंघका कोषाध्यक्ष राजेन्द्र विक्रम बानियाँले जानकारी दिए । देशभरबाट करिब ३ सय प्रतिनिधिको उपस्थिति रहेको सभा दुई दिनसम्म चल्ने छ ।


क्लिकमान्डु