कम्युनिष्ट सरकारले कांग्रेस नेता नरहरि आचार्यलाई दियो उपचार गर्न ३३ लाख रुपैयाँ
काठमाडौं । कम्युनिष्ट सरकारले नेपाली कांग्रेसका नेता नरहरि आचार्यको उपचारको लागि ३३ लाख ६१ हजार ५४५ रुपैयाँ निकासा गरेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेट रकमान्तरणको सूचिमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरहरि आचार्यलाई सरकारको २०७२ भदौ १७ र २०७३ जेठ २० को निर्णय अनुसार संघिय संसद्को नाममा सो रकम निकासा गरिएको छ ।
उपचार खर्चमा प्रभावशाली नेता तथा तिनका परिवार तथा उच्च कर्मचारी र सुरक्षा निकायका माथिल्लो तहका व्यक्तिले मात्र लिने गरेका छन् । प्रभावशाली व्यक्तिलाई मात्र उपचार खर्च दिने निर्णयको विषयमा चर्को आलोचना भएपनि यो निर्णय पुनरावलोकन हुन सकेको छैन ।
कांग्रेस नेता आचार्य तत्कालिन कांग्रेस सभापति शुसील कोइरालाको निधन भएको दिन गम्भिर बिरामी भएका थिए । उनको काठमाडौंमा आफ्नै घर भने छ ।
सरकारले भदौ महिनामा राजनीतिक वार्ता टोलीको कार्य संचालनको लागि दुई पटक गरेर ६० लाख रुपैयाँ निकासा गरेको छ । गृहमन्त्रालयको नाममा पहिलो चरणमा ५५ लाख रुपैयाँ र दोस्रो चरणमा ५ लाख रुपैयाँ निकासा गरिएको छ ।
भदौ महिनामा ४ करोड विभिन्न व्यक्तिको सहयोगको लागि निकासा तथा रकमान्तर भएका छन् । केही खर्च भने सरकारको नियमित कामको लागि गर्नुपर्ने रकमान्तरको रहेको छ ।